नेपाली अभिनेत्री तथा मोडल मुना गौचनले बलिउड अभिनेता रणवीर सिहसँग फिल्ममा अभिनय गर्ने भएकी छन् । बिहीबार गौचनले सामाजिक सञ्जालमा रणवीर र आफ्नो सेल्फी पोस्ट गर्दै उनले चाँडै फिल्म खेल्न लागेको बताएकी हुन् ।
फिल्मको नाम र थप जानकारी भने प्राप्त भैसकेको छैन ।शेयर गरिएको दुईवटा सेल्फीमा रणवीर र मुना दुवै प्रफुल्ल देखिएका छन् । गौचनले नेपाली फिल्म चपली हाइट-२ मा सहायक भूमिकामा अभिनय गरेर सिने क्षेत्रमा आएता पनि उनी मोडलकै नामले परिचित छिन् ।
नेपालमा भन्दा धेरै समय भारतमा बिताउने गरेकी गौचनले विभिन्न भारतीय म्युजिक भिडिओहरूमा पनि अभिनय गरिसकेकी छिन् । फिगर र बोल्डनेसमा उनलाई बलिउडका अभिनेत्रीहरूसँग पनि दाँजेर हेर्ने गरिन्छ । नेपालमा भन्दा उनले धेरै असाइनमेन्टमा भारतमै गर्छिन् । त्यही भएर उनको बसाई नेपाल भन्दा भारतमा बढी हुन्छ ।
सामाजिक सञ्जालमा गौचन निकै सक्रिय छिन् । फ्यानहरूको लागि समय समयमा फोटो र भिडिओहरू शेयर गरिरहेकै हुन्छिन् । यो समाचार तयार पार्दासम्म इन्स्टाग्राममा उनलाई फलो गर्नेहरूको सङ्ख्या ४ लाख ७२ हजार भन्दा माथि छ । फेसबुकमा पनि उनी सक्रिय छिन् तर इन्स्टाको तुलनामा फेसबुकमा उनका फ्यानहरू कम छन् ।
उनी मिस इको इन्टरनेशनल २०१९ को बिजेता समेत हुन् । विभिन्न विज्ञापन, म्युजिक भिडियो र केही फिल्ममा सहायक भूमिका गरेकी गौचन पछिल्लो समय मुम्बाइ बसेर आफ्नो क्यारियर अगाडि बढाइरहेकी छिन् ।