
काठमाडौँ- पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी निकालेर किनबेच गरेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
मुद्दा दर्ता हुनेहरूमा सर्लाहीको लालबन्दी नगरपालिका-२ घर भएका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेको मण्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद भनिने जीवनाथ ढकाल, उदयपुरको कटारी नगरपालिका-८ का २४ वर्षीय विनायक मैनाली र सप्तरीको वलानबिहुल गाउँपालिका-६ का ४१ वर्षीय मिश्रीलाल यादव छन् ।
प्रहरी वृत्त गौशालाले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरूविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । चार जनालाई धर्मसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।
न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलामा उनीहरूको बयान भइरहेको छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि पुर्पक्षका लागि कारागार पठाउने तथा साधारण तारेक वा धरौटीमा छाड्नेमध्ये एक आदेश आउने छ ।
राम शाहीको मृत्यु भएपछि २३ साउनमा सद्गद गर्न पशुपति लगिएको थियो । आर्यघाट सेवा केन्द्रबाट जिवनाथ ढकाल र उनका सहयोगी विनायक मैनाली सद्गदका लागि खटिएका थिए ।
आधा शव जल्दै गरेको अवस्थामा जिवनाथले टाउकाको हड्डी निकालेर विनायकलाई दिएको बताइएको छ । विनायकले उक्त हड्डी कपुरको बट्टामा हालेर रामनन्दन र उनको सहयोगी मिश्रीलाललाई दिएको बताइएको छ । यसरी उनीहरूले टाउकाको हड्डी बेचेको आरोप छ ।