गाउँमा महिला हिंसाविरुद्धको अभियानले ठाउँ लिँदै थियो । ‘कुनै पनि बहानामा महिला हिंसा सहनु हुँदैन’ भन्ने सन्देश समेटिएका गीतहरूमा मैले स्कुले जीवनमै नृत्यहरू गर्ने मौका पाएको थिएँ । यसो त यसैमा केन्द्रित सडक नाटकहरूमा पनि अभिनय गर्ने क्रममा सुर्खेतका कतिपय गाउँहरू छिचोल्ने मौका पनि पाएँ । यस्तै अभियानमा सामेल हुँदाहुँदै म कलिलैमा पत्रकारितामा धकेलिएको थिएँ । पत्रकारितालाई नै आफ्नो पेसा बनाउने मेरो दृढता पुरानै हो । यो क्षेत्रमा चुनौती र अवसर बराबरी छन् भन्ने मैले सुरुवातमै अग्रजहरूबाट जान्ने र बुझ्ने अवसर पाएको थिएँ ।
मेरा लागि कार्यस्थलमा हुने हिंसा पनि चुनौतीपूर्ण कुरा भन्ने थाहा थियो । त्यसैले म सधैँ सतर्क हुन्थेँ । सुर्खेतमा रेडियो भेरी एफएम र त्यसपछि जागरण एफएममा केही वर्ष पत्रकारिता गरेपछि पत्रकारितामै भविष्यको खोज्दै म काठमाडौँ हुत्तिएकी थिएँ । मेरा लागि उतिखेर सहर बिरानो थियो । म गाउँबाट छिरेकालाई सुरक्षित बास र दुई छाकको व्यवस्थासमेत त्यतिखेर अनिश्चित थियो । ‘केही गर्छु’ भन्ने अठोटका साथ सुर्खेत छोडेकी मलाई हार्ने या भाग्ने छुट यहाँ थिएन ।
खुल्ला प्रतिस्पर्धाबाट मैले कान्तिपुर मिडिया ग्रुपको रेडियो कान्तिपुरमा काम सुरु गरेँ । त्यसलाई मैले चुनौतीसँगै आफूलाई पत्रकारितामा स्थापित गर्ने अवसर र राम्रो थलोका रूपमा लिएकी थिएँ ।
इमान, निष्ठा र मेहनतले पत्रकारितामा स्थापित हुन सकिएला भन्ने लाग्थ्यो, मलाई । त्यस कारण कामको सवालमा म गम्भीर र संवेदनशील थिएँ । तर रेडियोका तत्कालीन समाचार प्रमुखले ममाथि कुदृष्टि राखे, म माथि यौन हिंसा गरे ।
मलाई उनले पत्रकार होइन ‘एउटा केटी’ का रूपमा मात्रै हेरे । म उनीबाट ज्ञान र सिप सिक्न चाहन्थेँ । तर उनी मेरो दृढता र क्षमता भत्काउन लागे । ममाथि कार्यस्थलमै यौन दुर्व्यवहारको पहिलो घटना थिएन त्यो । समाचार प्रमुखसँग निकट एक सहकर्मीले पनि उनले जस्तै व्यवहार गरे । आज पनि करिब एक दशकअघि आँसु झार्दै र काँप्दै रिपोर्टिङ गर्दै समाचार बनाएको र समाचार वाचन गरेको कुरा विस्मृतिमा गइसकेका छैनन् ।
म त्यस दुर्व्यवहारलाई चुपचाप सहन हुँदैन भन्नेमा दृढ थिएँ । त्यस कारण, न्यायका लागि मैले कोसिस गरेँ तर सहकर्मीबाट अपेक्षित सहयोग पाइनँ । उल्टो मलाई नै दोषी देखाएर सेवाबाट निकाल्ने प्रयासमा खनाल थरका तत्कालीन प्रशासन प्रमुख लागे । मेरा लागि जागिरभन्दा स्वाभिमान र न्याय ठुलो थियो । त्यसैले मैले कान्तिपुर मिडिया ग्रुपको उच्च तहमा आफ्ना भोगाइ पुर्याएँ ।
ममाथि यौन हिंसा गर्ने समाचार विभाग प्रमुखसँग स्पष्टीकरण लिइयो र उनलाई राजीनामा दिन लगाइयो । अर्का व्यक्तिलाई तीन महिना निलम्बन गरियो । मैले न्याय पाएको महसुस गरेँ । त्यसको केही महिनापछि मैले स्वेच्छाले र सौहार्दपूर्ण वातावरणबाट रेडियोबाट बिदा भई अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा आबद्ध भएँ । पछि देश सञ्चार डटकमसँग प्रारम्भदेखि नै आबद्ध भएँ । सोही अनुपातमा आफूलाई पत्रकारितामा निखार्ने मौका पाएँ ।
त्यतिन्जेल रेडियो कान्तिपुर छोडेको १० वर्ष बितिसकेको थियो । देश सञ्चार डटकममा कार्यरत रहेकै बेला मलाई कान्तिपुर मिडिया ग्रुपकै कान्तिपुर टेलिभिजनमा काम गर्ने अवसर मिल्यो । मुलुकको प्रतिष्ठित मिडियामा व्यावसायिक वातावरण र कार्य दक्षताका आधारमा अवसर पाइन्छ भन्ने विश्वासका साथ म त्यहाँ गएकी थिएँ । वास्तवमा मैले पहिल्यै खाइपाइ आएको सेवा सुविधामा सम्झौता गरेर टेलिभिजनमा प्रवेश गरेको थिएँ । पहिलो भेटवार्ता मै टेलिभिजनका प्रधान सम्पादक दिलभुषण पाठकले कम्तीमा दुई वर्ष नछोड्ने प्रतिबद्धता मसँग खोजेपछि मैले मेरो क्षमताप्रति संस्थाको उच्च मूल्याङ्कनका रूपमा त्यसलाई लिएकी थिएँ ।
त्यो क्रममा उनले मलाई उतिखेर ‘रेडियो कान्तिपुर किन छोडेको ?’ भन्ने प्रश्न समेत गरेका थिए । मैले उनलाई सबै घटनाक्रम सुनाएको थिएँ । ‘तपाईँले राम्रै गर्नु भएछ । म पनि महिला हिंसाको विरुद्धमा छु’, उनको प्रतिक्रिया थियो । मेरो कामको उचित मूल्याङ्कन हुने र सेवा–सुविधामा तीन महिनापछि नै वृद्धि गर्ने उनको प्रतिबद्धता थियो ।
तर त्यसको भोलिपल्ट नै पहिले रेडियो कान्तिपुरमा हुँदा मलाई दुर्व्यवहार गर्ने खनाल थर भएका ब्यक्त्तिले मलाई फोन गरे । रेडियो कान्तिपुर छोडेपछि उनीसँग कहिल्यै पनि संवाद गरेको थिइनँ । उनले ‘पहिले जेजस्तो भए पनि अहिले तिम्रो कामलाई नियालिरहेको र तिमीले प्रशंसनीय काम गरिरहेको’ भन्दै कान्तिपुर टेलिभिजनमा मेरो प्रवेशबारे जिज्ञासा राखेका थिए । मलाई सशङ्कित बनायो, उनको त्यो चासोले ।
२०७८ असोज १ गतेदेखि मैले कान्तिपुर टेलिभिजनमा काम सुरु गरेँ । समाचार कक्षको पहिलो बैठकमै प्रधान सम्पादकले मेरो कामको प्रशंसा गर्दै मेरो लागि उचित माहौल बनाउन सहयोग गर्न सहकर्मीहरूलाई आग्रह गरेका थिए । त्यसले मलाई हौसला दियो । तर त्यहाँ काम थालेको ११ औँ दिनमा खनालले फेरि मलाई फोन गरे । रेडियो कान्तिपुरमा भएको घटनाको स्मरण गराउँदै तीन महिनापछि मेरो नियुक्ति पत्र नवीकरण नहुने चेतावनी दिए । मैले यसबारे भोलिपल्टै प्रधान सम्पादकसमक्ष कुरा राखेँ । उनले मलाई भने ‘अरूका कुरा नसुन्नुहोस्, चिन्ता नगर्नुहोस्, काम गर्नुहोस् ।’ मैले आफ्नो कामलाई निरन्तरता दिएँ । अहोरात्र काममा खटिएँ । परिआउँदा कार्यालयमै काम गरेर रात पनि बिताएँ ।
मैले हरेक दिन दिइएको जिम्मेवारी पूरा गरेको रेकर्ड छ । तीन महिनामा तीन–चार दिन मात्रै बिदा लिने मौका पाए । समाचार कक्षको बैठकमा मेरो हरेक जसो कामको प्रशंसा भयो । सहकर्मी साथीहरूले हौसला दिइरहे । खनालको चेतावनी मेरो मनबाट हट्न सकेको थिएन । तर नियुक्ति पत्रको अवधि सकिन मात्र दुई दिन बाँकी छँदा २०७८ मङ्सिर २८ गते मेरो नियुक्ति पत्र नवीकरण नहुने कुरा मानव संसाधन विभागका असिस्टेन्ट म्यानेजरले मलाई सुनाए । यसले मलाई एउटा अनिश्चिततातर्फ धकलेको थियो । मैले कारण मागेँ । उनले कारण दिन सकेनन् । उनले तिनै खनाल या प्रधान सम्पादकलाई यसबारे सोध्न भने । तत्कालै प्रधान सम्पादकलाई यसबारे सोधेँ ।
उनले आफू यो घटनाबारे अनभिज्ञ भएझैँ गरे । ‘के तपाईँलाई यसबारे थाहा छैन?’, मैले उनलाई उल्टै प्रश्न गरे । ‘आई विल चेक, स्ट्रेस भएको छ भने केही दिन बिदा बस्नुहोस्,’ उनको जबाफ थियो । म बिदा बस्न मानिनँ । मैले काम गर्दा केही गल्ती गरे कि ?,’ मैले उनलाई सोधेँ । ‘नो’, उनको जबाफ थियो । ‘मैले संस्थाको हित विपरीत पो केही काम गरे कि ?,’ मैले फेरि उनलाई सोधेँ । ‘एब्सोलुट्ली नो,’ उनको जबाफ थियो । ‘त्यसो भए कारण के हो त ?,’ उनलाई मैले सोधेँ । ‘आई विल चेक,’ उनको पुरानै जबाफ थियो । त्यस दिन काम गरेर घर जाँदै गर्दा हाजिरी सिस्टमबाट मेरो नाम हटिसकेको थियो । भोलिपल्ट मैले त्यसबारे बुझ्न चाहेँ । तर उनको फोन उठेन ।
त्यसपछि टेलिभिजनमै कार्यरत एक सिनियरलाई सबै घटनाक्रम सुनाएँ। उनले हाजिर नभए पनि अफिसमा आएर काम गर्न सुझाए । तत्काल म अफिस पुगेँ र काम गरेँ । तर फिल्डमा भएका बेला मेरो पोलिटिकल ब्युरो चिफले तत्काल अफिस बोलाए । उनले मलाई अफिसले केही दिन बिदामा बस्न लगाएको जानकारी गराए । मलाई बिदा बस्न लगाउने प्रधान सम्पादक नै थिए । म बिदा बस्न बाध्य भएँ । बिचबिचमा फोनमार्फत प्रधान सम्पादकसँग सम्पर्क गर्ने कोसिस गरिरहेँ । उनी पन्छिए । घटनाको झन्डै दुई सातापछि मैले कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक कैलाश सिरोहियालाई भेटेर सबै घटनाक्रम सुनाए ।
‘तपाईँ राम्रो पत्रकार भएको मलाई थाहा छ । तर तपाईँकै प्रधान सम्पादकले तपाईँको नियुक्ति नवीकरणका लागि सिफारिस गरेका छैनन्, म के गरूँ ?,’ सिरोहियाको प्रतिक्रिया थियो । मसँग पन्छिँदै आएका प्रधान सम्पादकले त्यसको केही दिनपछि ‘बजेट इस्यु’का कारण मेरो ‘जब नवीकरण’ नभएको दाबी गरे । तर मलाई हटाइएपछि पनि टेलिभिजनमा थप पत्रकार राखिएकोले बजेट इस्यु एउटा नक्कली बहाना भएको स्पष्ट थियो । यी सबै प्रयास न्यायोचित तरिकाबाट कान्तिपुर मिडिया ग्रुपले सुल्झाउला भन्ने मेरो आस मरेपछि म पत्रकार महासङ्घ पुग्न बाध्य भएको हुँ । सुरुमा महासङ्घले मेरो पुनर्वहालीको माग राख्दै कान्तिपुर टेलिभिजनलाई दुई वटा स्पष्टीकरणका लागि चिठी पठाउँदा पनि त्यहाँबाट चित्तबुझ्दो जबाफ आएन ।
बरु खनालले मेरो नभई, आफ्नो पक्षमा काम गर्न महासङ्घका अध्यक्षलाई दबाब दिए । तर महासङ्घले माग पूरा नभए चैत्र १० गतेदेखि टेलिभिजनविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएर अर्को पत्र पठायो । त्यसपछि कान्तिपुर मिडिया ग्रुपको उच्च तहले उनै खनाल र टेलिभिजनका असिस्टेन्ट म्यानेजरलाई महासङ्घसँग वार्ताका लागि खटायो । वार्तामा उनीहरूले ममाथि अन्याय भएको स्वीकार गरिसकेका छन् । तर मलाई न्याय दिनेबारे उनीहरू मौन छन् । त्यसैले म खुलेर लड्न बाध्य भएँ । महासङ्घले मलाई साथ दिएकोमा म कृतज्ञ छु । म यस पटक मेरा लागि मात्रै खुलेको छैन, मजस्तै केही पत्रकारहरू टेलिभिजनबाटै निकालिएका छन्, कोही अपमानित छन् । कोही न्यूनतम पारिश्रमिकबाट वञ्चित छन् । जसले मजस्तै आफ्नो श्रम र श्रमको सम्मानमा विश्वास गर्छन् । उनीहरू सबैका लागि पनि म खुलेको हुँ । यो आन्दोलन पत्रकारहरूको न्याय, हित र सम्मानका लागि समर्पित छ ।
अब मेरो संस्थाका शोषित पत्रकारहरू बाहिर निस्केर धर्नामा बस्न आवश्यक भइसकेको छ । त्यसो हुन सके पत्रकारलाई विभिन्न बहानामा निकाल्ने र श्रम शोषण गर्ने अन्य मिडियाहरूले पनि गतिलो पाठ सिक्ने छन् । अनवरत रूपमा आफ्नो पेसामा आबद्ध भइरहेका पत्रकारलाई अचानक कामबाट निकाल्दा त्यसले पुर्याउने आर्थिक, मानसिक, प्रतिष्ठागत र व्यावसायिक क्षतिप्रति कुनै पनि मिडिया सञ्चालकहरूलाई खेलबाड गर्ने अधिकार छैन । अन्त्यमा, यी सबै घटनाक्रमबाट सम्पादकहरूले पनि स्पष्ट अडान लिन जरुरी छ । उनीहरू पत्रकारहरूको हित, अधिकार र श्रम शोषण विरुद्ध उभिने या मिडिया मालिकका बफादार सेवकका रूपमा मात्रै रहिरहने ! निर्णय तपाईँहरूको ।