
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले पिउने प्रशोधित पानीको जारमाथिको अनुगमनलाई तीव्रता दिएको छ ।
बर्खायाममा पानीबाट सर्ने रोगहरूको जोखिम बढ्दै गएपछि महानगरले प्रशोधित पानीको अनुगमन र कारबाहीलाई एकसाथ अघि बढाएको हो ।
पछिल्लो एक हप्तामा मात्रै महानगरले विभिन्न स्थानबाट मापदण्ड विपरीतका २७१ वटा जार बरामद गरी नष्ट गरिएको जनाएको छ ।
महानगरको अनुगमनको जिम्मा लिएको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार असार र साउन महिनामा मात्रै १३९ वटा गाडीको जाँच गर्दा ४५६ वटा फोहोर, कुच्चिएका र मापदण्ड नपुगेका जारहरू बरामद गरी नष्ट गरिसकिएको छ ।