मंगलवार बिहान आफ्नो दसौँ सन्तानका रूपमा छोरी जन्माएपछि एक जना महिलाले प्राण त्याग गरेको खबर सार्वजनिक भयो । उक्त खबर सुनेपछि मेरो मन निकै खिन्न भयो । मलाई सकभर यस्ता समाचार सुन्न, लेख्न र पढ्न नपरोस् भन्ने लाग्छ ।
हुम्लाको अदानचुली गाउँपालिका–५ गाउँकी ३३ वर्षकी गौगोरा सत्यालले आफ्नो दसौँ सन्तानका रूपमा छोरी जन्मिएको देख्ने बित्तिकै प्राण त्याग गरेकी थिइन् । उनले जन्मिएको नयाँ बच्चा छोरी भएको थाहा पाएपछि अत्तालिएर बेहोस भएको थिइन् ।
यसअघि कुनै बिरामी नभएकी सत्यालले छोरा नजन्माएको भनेर मानसिक तनाव खेप्दै आएको थिइन् । उनले छोरा पाउनै पर्ने बाध्यता थियो । छोरा नजन्माएकोमा उनका परिवार, आफन्त छिमेकी तथा समाजबाट अपहेलित हुनुपरेको थियो । उनले दसौं सन्तानको रूपमा पनि छोरी जन्माएपछि समाज, परिवार र आफन्तको डरले ज्यान गुमाइन् । उनको हत्यारा परिवार,आफन्त र समाजको साथसाथै बर्षौं देखि चलिआएको छोरा र छोरी बिचको बिभेद हो ।
छोरा जन्माउनकै लागि कयौँ छोरीहरू गर्भमै तुहिएका उदाहरणहरू हामीमाझ धेरै छन् । जतिसुकै कडा कानुन र समान अधिकारका व्यवस्था गरे पनि, पाँचतारे होटेलमा सभा सम्मेलन गरे पनि छोरा र छोरीप्रतिको विभेदयुक्त धारणा हामीभित्र जरो गाडेर बसेको छ । कुनै न कुनै रूपमा त्यो हाम्रो संस्कारमा व्यक्त हुन्छ । व्यवहारमा प्रकट हुन्छ । हामीभित्र गडेको यो जरो जबसम्म उखेल्दैनौँ, तबसम्म विभेद समाप्त गर्न सम्भव छैन ।
उनको निधनले विभिन्न प्रश्नहरू जन्माएको छ । ती मध्ये एउटा महत्त्वपूर्ण प्रश्न हो छोरा नै किन ?
यस्तै सल्यानकी एक महिलाले दसौँ सन्तानको रूपमा छोरालाई जन्म दिइन् । छोराकै आसमा सन्तान जन्माउँदा नवौँ सन्तान पनि छोरी भएपछि ती महिलाले फेरि सन्तान जन्माउन बाध्य भएको थिइन् । तर भाग्यवश दसौँ सन्तानको रूपमा उनले छोरो जन्माइन् र घरपरिवार, आफन्त, छिमेकी तथा समाजबाट स्याबासी पाइन् । आफूले छोरी मात्रै लगातार जन्माउँदा सामाजिक अपहेलनमा परेको गुनासो महिलाले बारम्बार गर्दै आइरहेको थिइन् ।
उनले आफ्नो स्वास्थ्य अवस्था पनि निकै कमजोर भइसकेकोले तीन वटा छोरी जन्मिसकेपछि स्थानीय स्वास्थ्यकर्मीहरुले ‘अब तपाईँले स्थायी बन्ध्याकरण गर्नुहोस्’ भनेर सुझाव दिएको तर श्रीमानले नमानेको बताएको थिइन् । पछि सबैले आफूलाई अपहेलन गर्न थालेपछि छोरो जन्माउने भनेर बच्चा जन्माउँदा नौ छोरी जन्मिएको उनको गुनासो छ ।
‘दुई मात्र सन्तान ईश्वरका वरदान’ भन्ने गरिन्छ तर यो मेरो बाध्यता जस्तै बन्यो । पहिला छोरा जन्मेको भए यति धेरै सन्तान जन्माउन मलाई पनि रहर थिएन ।’ भनेर उनी साथीहरूसँग रुने गर्थिन, तर उनको दु:खमा महलम लगाउन कस्ले सक्ने ? सबै सामाजिक बिकृतिभित्र रुमलिएका छन् । समाजको अगाडि बोल्न सक्ने तागत उनका साथीमा थिएन ।
यिनीहरू त केबल प्रतिनिधि पात्र मात्र हुन् । छोरा नजन्माएको निहुँमा कयौँ आमाहरू मारिएका छन्, विभिन्न लाञ्छना खप्न बाध्य छन् । २१ औँ शताब्दीमा पनि कुल धान्ने, वंश धान्ने, काजक्रिया गर्नका लागि छोरा चाहनेहरूको सङ्ख्या धेरै छ ।
आजकल समाजमा नैतिक मूल्य र मान्यता हराउँदै गएको छ। नैतिकताविहीन समाजमा नैतिकताको बीजारोपण गरेर सु सभ्य समाजको परिकल्पना गर्नतर्फ कसैको ध्यान जान सकेको छैन। सरकार र विभिन्न निकायहरूले जनचेतना जगाए जस्तो गरे पनि समाजमा गडिएर बसेको कुरीतिको अन्त्य हुन सकेको छैन ।
छोरा जन्माउनकै लागि कयौँ छोरीहरू गर्भमै तुहिएका उदाहरणहरू हामीमाझ धेरै छन् । जतिसुकै कडा कानुन र समान अधिकारका व्यवस्था गरे पनि, पाँचतारे होटेलमा सभा सम्मेलन गरे पनि छोरा र छोरीप्रतिको विभेदयुक्त धारणा हामीभित्र जरो गाडेर बसेको छ । कुनै न कुनै रूपमा त्यो हाम्रो संस्कारमा व्यक्त हुन्छ । व्यवहारमा प्रकट हुन्छ । हामीभित्र गडेको यो जरो जबसम्म उखेल्दैनौँ, तबसम्म विभेद समाप्त गर्न सम्भव छैन ।
अहिले स्वस्थानी व्रत कथा चलिरहेको छ । धेरै महिला दिदी बहिनीहरू छोराको भाकल गरेर व्रत बसिरहेको म प्रत्यक्ष रूपमा जानकार छु । म सानो छँदा मेरो मामाघरमा पनि सधैँ स्वस्थानीको व्रत बस्नुहुन्थ्यो, कहिले कहिले म पनि स्वस्थानीको कथा पढेर सबैले सुनाउँथे । तर, मेरो आमाले कहिले पनि यो व्रत बसेको देखिन । उहाँ किन व्रत बस्नु हुन्न भन्ने कुरा मेरो मनमा जरा गाडेर बसेको थियो ।
व्रत समाप्तिको दिन आठ रोटी, आठ पान, आठ सुपारी आदि आफ्ना श्रीमानलाई, श्रीमान् नभए छोरालाई, छोरा नभए मित छोरालाई, मित छोरा पनि नभए मेरो इच्छा पूरा होस् भनेर नदीमा विसर्जन गरी बाँकी एक सय प्रसादको रूपमा आफूले खाने चलन छ । यो कुरा पढिरहँदा मेरो बाल मस्तिष्कमा सधैँ छोरीले चैँ त्यो रोटी किन खानु नमिल्ने होला भनेर कुरा खेलिरहन्थ्यो ।
अनि, मेरो आमाले रोटी खुवाउने छोरा नजन्माएकोले व्रत नबस्नु भएको होला भनेर सम्झन्थे । फेरि अर्को मनले भन्थ्यो, ह्या छोरा नभए मित छोरा भनेको छ त रु मेरो मित आमाको छोरा खगेन्द्र दादा छ त, उसैलाई खुवाउँदा हुन्थ्यो नि ? यस्ता यावत प्रश्नहरूले मेरो मनमा डेरा जमाएर बस्ने गरेको थियो । स्वस्थानी भगवतीको व्रत कथा भए पनि छोरीलाई रोटी खान नदिएकोमा म रिसाउने गर्थे ।
तर,समय परिवर्तनशील छ । अहिले छोराको आसमा १० जना छोरी जन्माउने भन्दा पेटमा भ्रूणको पहिचान गरेर गर्भपतन गराउने क्रम बढ्दो अवस्था छ । अहिले पनि विवाहित महिलाहरूले छोरा जन्माउनु पर्ने दबाब तथा बाध्यताहरू सहँदै आएका छन् । आफूलाई शिक्षित, सभ्य, सम्भ्रान्त भन्न रुचाउनेहरू समेतमा यस किसिमको मानसिकता पाइन्छ ।
पहिले पहिले छोरा पाउने आसमा १० जनासम्म छोरी जन्माउने चलन थियो र त हामी बाँच्यौँ नि, त्यो जमानामा पनि भ्रूण हत्या गर्ने चलन भएको भए हामी पनि यसरी जीवन जिउन पाउँथिम होला र ? आमाले अपार कष्ट भोगे पनि छोरीहरूले जीवन त पाएका थिए नि भन्ने प्रश्नहरू पनि महिलावादीहरूको कार्यक्रममा सुनिन थालेका छन् ।
पितृसत्तात्मक सोचले ग्रस्त धेरै महिला घरेलु हिंसा, बहुविवाह, बालविवाह, बलात्कार तथा अन्य यौनजन्य हिंसा भोग्न, छोराको चाहनामा सौता भित्याउन, लिंग परिचान गरी भ्रूण हत्या गर्न, छोरा नपाउँदा अपहेलित हुन बाध्य छन्। अर्कोतिर सन्तान नभएका कारणले दुःखी कतिपय दम्पतीका पनि आफ्नै कथा छन्। सायद ती दम्पतीको धेरै बुझाइ होला सन्तानको महत्व तथा छोरा र छोरीबीचको विभेद होइन कि सन्तानबीचको समानता।
हो, तिनै महिलावादीहरूले लैङ्गिक विभेदविरुद्ध जतिसुकै चर्को आवाज उठाए पनि व्यवहारिक रूपमा ‘छोरा नै चाहिने मानसिकता’ हराएको छैन । त्यसैले त छोराको प्रतीक्षा गर्दागर्दै धेरै सन्तान जन्माउने, छोरी जन्माएको निहुँमा हेला/होचो गर्नेदेखि कन्या भ्रूण हत्या गर्जनेसम्मको कृत्यहरू भित्र–भित्रै जारी छ ।
लगातार चार छोरी जन्माएर समाज र परिवारबाट घृणित बन्न पुगेकी एक महिलाले २०७६ साल मङ्सिर ८ गते छोरालाई जन्म दिइन् । त्यसपछि उनले परिवार र छिमेकीहरूको माया मात्र पाइनन् उनको स्वागत गर्न सबै बाजागाजासहित अस्पतालसम्मै पुगे । छोरा जन्मिएको खुसीयालीमा अबिर जात्रा नै भयो। यही खुसीमा गाउँले र आफन्तले भोज नै खाए। छोरा जन्माएपछि ती महिलाले पनि परिवारबाट माया पाउन थालिन्।
नेपालमा प्रत्येक वर्ष छोरी जन्मिने अनुपात घट्न थालेको छ । परोपकार प्रसूति गृह थापाथलीमा आर्थिक वर्ष २०७५/०७६ मा ११ हजार ९ सय ४६ जना छोरा जन्मिएका थिए भने १० हजार ४ सय १६ छोरी जन्मिएका छन् । उक्त अस्पतालमा १०/१२ वर्षदेखि छोरा र छोरी जन्मिने अनुपातमा निकै अन्तर देखिएको छ।
केन्द्रीय तथ्याङ्क विभागका अनुसार एक सय २१ छोरा जन्मिँदा सय मात्र छोरी जन्मिन्छन् । सबैभन्दा धेरै प्रसूति सेवा दिने थापाथलीस्थित प्रसूति गृहको तथ्याङ्कमा पनि ५४ प्रतिशत छोरा र ४६ प्रतिशत मात्रै छोरी जन्मिएका छन् ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार स्वास्थ्य महाशाखाको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३/७४ मा देशभर एक लाख ७७ हजार २ सय ५३ छोरा जन्मिए । सोही वर्ष जन्मिने छोरीको सङ्ख्या भने एक लाख ६६ हजार ३ सय २४ मात्र थियो । त्यस्तै, आव ०७२/७३ मा एक लाख ८६ हजार ८ सय १७ छोरा जन्मिँदा एक लाख ७३ हजार ४ सय ९६ मात्र छोरी जन्मिए । आर्थिक वर्ष ०७१/७२ मा एक लाख ४७ हजार ४ सय २४ छोरा जन्मिए भने एक लाख ४३ हजार ४ सय १६ मात्र छोरी जन्मिए ।
प्रसूति गृहमा आर्थिक वर्ष ०७३/७४ मा १८ हजार ७ सय २० बच्चा जन्मिएका थिए । तीमध्ये १० हजार १ सय ३ छोरा र ८ हजार ६ सय १७ छोरी थिए । आव ०७२–७३ मा ९ हजार ९ सय २७ छोरा र ८ हजार ३ सय ८५ छोरी जन्मिए । त्यस्तै, ०७१/७२ मा १० हजार १ सय ९२ छोरा र ८ हजार ६ सय २१ छोरी मान्छे जन्मिए । आव ०७०–७१ मा ९ हजार ९ सय ५३ छोरा र ८ हजार ७ सय ९० छोरीको जन्म भएको अस्पताल प्रशासनको तथ्याङ्कमा उल्लेख छ ।
यी तथ्याङ्कहरूले समाजमा छोरै चाहनेहरूको जमात ठुलो छ भनेर देखाउँछ । हाम्रो समाजमा छोरा जन्माएमा बुढ्यौलीमा आमाबुवाको सहारा बन्ने, मरेपछि काजक्रिया गर्ने तर छोरीले दिएको दागबत्ती, किरिया र पिण्ड नचल्ने साथै छोरीलाई पराईको दृष्टिकोणले हेर्नेजस्ता प्रवृत्तिहरू अझै विद्यमान छन् ।
छोरा नजन्माए दोस्रो विवाह गर्ने तथा हिंस्रक प्रकृतिका व्यवहार गर्नेजस्ता कु प्रचलनहरू आजसम्म पनि पाइन्छन् । पछिल्लो दिनहरूमा छोरीहरू नै किरिया बसेका, बुबा आमाहरूको हेरचाह गरिरहेका र एउटा मात्र छोरीमा चित्त बुझाउनेहरूको सङ्ख्या पनि उल्लेख्य रूपमा बढ्दै गइरहेको छ ।
कसैको घरमा छोरी मात्रै छन् भने यसको त छोरा छैन वंश वृद्धि कसले गर्छ रु भनेर जिब्रो टोक्ने र हेप्ने आफन्त र छिमेकीहरूले अभिभावकलाई चैनले बस्न नदिएका उदाहरण हाम्रै सामु छन् ।
झन् एउटी छोरी मात्र जन्माएर अर्को सन्तान नजन्माएका र नजन्माउने निर्णय गरेका बुवा आमालाई अब एउटा छोरा पाउनुपर्यो नि, छोरी त बिहे गरेर अर्काको घरमा गइहाल्छे, सम्पत्ति खान र बुढेसकालको सहाराको रूपमा एउटा छोरा चाहिन्छ नि, भनेर सल्लाह दिने र घोचपेच गर्ने तथाकथित आफन्त र छिमेकीले ती अभिभावकलाई टोकसो गरिरहन्छन् ।
अन्त्यमा अहिले समाजमा सामाजिक संरचनाका कुरा गरिरहँदा कुल धान्ने, वंश धान्ने, काजक्रिया गर्नका लागि छोरा चाहनेहरूको सङ्ख्या बढिरहेकै छ । छोरा पाउनकै लागि कयौँ भ्रूण हत्याहरू भइरहेकै छन् । छोरा र छोरी दुबै बराबर हुन् भन्ने कुरालाई नारामा मात्र सिमित नराखौं । सन्तान गर्भमै छँदा विभेद, जन्मिएपछि पनि विभेद, कहिलेसम्म यस्तो विभेदको सिकार भैरहने छोरीले ? बर्सेनि हजारौं छोरी संसारै देख्न नपाई मारिन्छन्, अरूको त कुरै छोडौं आमाबाट समेत अपहेलित हुन्छन् अनि कहिले होला त हामीले भन्ने गरेको महिला मुक्ति ? कहिले होला छोरा र छोरीमा समान धारणा ?