राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मतपरिणामपछि निर्वाचित पदाधिकारी र कार्यकर्ताहरूले खुशीयाली मनाएका छन् ।
मंसिर १५ देखि सुरु भएको राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देन अध्यक्ष पदमा बिजयी भएका छन् भने उनका प्रतिद्वन्दी कमल थापा १०० बढी मतले पराजित भएका छन् ।
लिङ्देनसँगै उपाध्यक्षमा विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र बुद्धिबहादुर तामाङ तथा महिला उपाध्यक्षमा रोशन कार्की निर्वाचित भएका छन् । यी सबै थापा समूहका हुन् । पाण्डेको हकमा भने दुबैले आफ्नो प्यानलको दाबी गर्दै आएका छन् ।
महामन्त्रीमा धवलशम्शेर राणा, भुवन पाठक र महिलातर्फ कुन्ती शाही निर्वाचित भएका छन् । धवलशम्शेरमात्रै लिङ्देन प्यानलका हुन् । महिला महामन्त्रीमा लिङ्देनको समूहबाट उम्मेदवारी दिएको नायिका रेखा थापा भने पराजित भएकी छिन् ।
बुधबार सुरु भएको राप्रपा महाधिवेशनले अध्यक्ष, १ महिलासहित ४ जना उपाध्यक्ष, १ महिलासहित ३ जना महामन्त्री र १४१ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन गरेको छ ।
महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीसहित एक सय ४१ जना निर्वाचित भएका छन् ।
पार्टी अध्यक्षले सातजना सहमहामन्त्री, सातजना सहायक महामन्त्री, एकजना कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता, सहायक कोषाध्यक्षसहित ५० जना मनोनित गर्न पाउने राप्रपाको विधानमा व्यवस्था छ । राप्रपामा अध्यक्षबाहेकका पदाधिकारीमा निर्वाचन भएको यो पहिलोपटक हो ।