
काठमाडौँ- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी गुरुयोजना अब समयमै पूरा हुने बताएका छन् ।
शुक्रवार रुपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै उनले अब बजेटको अभावले लुम्बिनी विकासको काम रोकिने अवस्था नरहेको प्रस्ट पारे ।
‘लुम्बिनी गुरुयोजनाको बाँकी काम अब पूरा समय दिएर अघि बढाइनेछ । निश्चित समयमै काम सम्पन्न हुनेछ’ उनले भने, ‘पैसाको अभावले यो काम रोकिएको होइन, अब स्रोतको कमी बहानामा योजना थाँती राखिँदैन ।’
उपप्रधानमन्त्री पौडेलले लुम्बिनी गुरुयोजना केवल लुम्बिनी विकास कोषको दायरा भित्र मात्र सीमित नभएको बताउँदै यसलाई समग्र क्षेत्रीय दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘लुम्बिनी विकास कोषको मात्रै कुरा गरेर लुम्बिनीलाई साँघुरो ढंगले बुझ्न हुँदैन । देवदह, रामग्राम, तिलौराकोट, सैनामैना, कपिलवस्तुसहितका सम्पूर्ण क्षेत्रलाई समेटेर वृहत् लुम्बिनी क्षेत्र निर्माणतर्फ जानुपर्छ ।’
उनका अनुसार विख्यात जापानी आर्किटेक्ट केन्जो टाँगेले बनाएको योजना केवल एउटा हिस्सा हो, अब त्यसबाहिरको सम्पूर्ण लुम्बिनी क्षेत्रलाई समेटेर नयाँ योजना अघि बढाइनेछ । ‘विश्व बैंकसमेत समग्र लुम्बिनी क्षेत्रको निर्माणका लागि तयार भएको अवस्थामा अब स्रोतको अभावमा काम अघि नबढ्ने भन्ने कुरा स्वीकार्य हुँदैन’ पौडेलले थपे ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको विषयमा आएको आलोचनाप्रति प्रतिक्रिया दिँदै उनले भने, ‘हिजो बन्दै छ भनेर आलोचना गरियो, अब त बनेपछि ‘नचल्ने’ भनेर प्रचार गरिन्छ । यस्तो निराशावादी टिप्पणी गर्नेहरू अब फेल हुनेछन् ।’
उनले भने, ‘काम गर्दा केही समस्या त आएका थिए, केही छन् पनि, तर ती समाधानको चरणमा छन् । यो विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्नुको विकल्प छैन । यो रुपन्देहीको मात्र नभई समग्र लुम्बिनी क्षेत्रकै नमुना आयोजना हो । यसका बारेमा निराशाजनक धारणा बनाउनु हानिकारक हुन्छ ।’
अर्थमन्त्री पौडेलले विकासको काममा सधैँ ‘भएन’, ‘हुँदैन’ भनेर आलोचना गर्नेलाई लक्षित गर्दै भने, ‘साना कमजोरी खोजेर मात्र आलोचना गर्ने बानीले भएका काम पनि ‘भएन’ भनिँदै रोकिन्छन् । जे भइसकेको छ, त्यसलाई स्वामित्व लिँदै, जे बाँकी छन्, त्यसलाई दबाब दिँदै अघि बढ्नुपर्छ ।’
उनले रुपन्देहीको विकासमा दीर्घकालीन महत्त्व राख्ने काली गण्डकी डाइभर्सन आयोजना पनि अघि बढिसकेको बताए । ‘धेरैलाई पत्यार नलाग्न सक्छ, तर काली गण्डकी डाइभर्सन आयोजना व्यवहारमा अघि बढिसकेको छ’ उनले स्पष्ट पारे ।
कार्यक्रममा उनले लुम्बिनी विश्वविद्यालयको गुरुयोजना सार्वजनिक गर्दै यस्तो योजना केवल कागजमा सीमित नहोस् भन्ने चाहना व्यक्त गरे । विश्वविद्यालय मात्र नभई समग्र लुम्बिनी क्षेत्रलाई समेटेर शिक्षा, संस्कृति, पर्यटन, धार्मिक महत्त्व र अन्तर्राष्ट्रिय सम्बन्धलाई जोड्न सकिने उनले बताए ।
पौडेलले लुम्बिनी क्षेत्रको विकास अब भाषण र वाचा मात्र नभई, कार्यान्वयनको तहमा अघि बढ्ने विश्वास दिलाए । विश्वकै शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलको हैसियतमा लुम्बिनीलाई विश्वस्तरमा अझ प्रभावकारी रूपमा स्थापित गर्ने लक्ष्यसहित समग्र योजनाहरू सरकारको प्राथमिकतामा रहेको उनको भनाइ थियो ।