- आयुशा कडेल
विशेष गरी हिन्दु नारीले आफ्ना पतिको दीर्घायुको कामना गरेर व्रत बसी पूजाआजा गरी तीज पर्व मनाउने गर्छन् । यस पर्वमा विवाह भएका छोरी चेलीलाई माइतबाट लिन जाने, तीजको अघिल्लो दिन सबै बसेर मीठा-मीठा परिकारहरू ‘दर’ खाने र भोलिपल्ट निराहार बसी व्रत गर्ने परम्परा रहिआएको छ।
नेपाली नारीले भोग्नुपरेको अभाव, पीडा, व्यथा, अन्याय आदिका आवाजहरू तीजमा गुन्जने गर्दछन्। आफ्नो घरका पीडा र व्यथाहरू माइतीमा गएर साथी-साथी जम्मा भई थपडी बजाएर गाउने र कम्मर मर्काउँदै घुमी-घुमी नाच्ने यस पर्वले नारी जातिलाई ठुलो स्वतन्त्रता प्रदान गरेको महसुस हुन्छ। तर तीजमा नाममा केही हुनेखाने सम्भ्रान्त परिवारबाट भित्रिएको भड्किलो संस्कारले लाखौँ चेलीबेटीलाई दुःख दिएको छ।
तीजका नाममा केही वर्षयता नाचगान र भोजका लागि होटल र पाटी प्यालेस प्रयोग गर्ने क्रम बढ्दो छ। भने आधुनिकताका नाममा छाडा शैलीमा तीज मनाउने र यौन उत्तेजनात्मक गीत गाएर संस्कृति परिवर्तन सम्भव छैन। बरु यस्तो चलनले समाजलाई अस्वस्थ प्रतिस्पर्धा, आडम्बरी र भड्किलो जीवनशैलीलाई प्रोत्साहन गर्दछ। एक-दुई महिना अगाडिदेखि पर्वको महत्त्वलाई ओझेलमा पारेर केही सीमित र सम्भ्रान्त वर्गबाट भित्रिएका यस्ता चलनले समाजमा वर्ग विभेद ल्याउनुका साथै पति गुमाएका महिलाहरूमा त झन् ठुलो पीडा थपेको छ। जस्तो-एउटै समाजभित्र एकथरि महिला सशक्तीकरण र लैङ्गिक समानताका नारा बोक्दै परिवर्तन खोजेर हिँडेका छन् भने अर्काथरि पितृसत्तात्मक सोचलाई निरन्तरता दिँदै असल पति प्राप्त वा पतिको दीर्घायुका लागि कठोर व्रत गर्नुले नारी पर्व तीज विरोधाभासपूर्ण बनेको छ।
यसरी नारीको महान् पर्व तीज बिस्तारै विकृतिको जालोमा फसिरहेको छ। अरूको देखासिकीमा परेर कम आर्थिक अवस्था भएका महिलाहरू पनि महँगो शुल्क तिरेर भए पनि तीज मनाउन बाध्य छन्। वास्तवमा तीज पर्वलाई देवी पार्वतीको महादेवसँग मिलन भएको दिनका रूपमा लिइन्छ। धार्मिक ग्रन्थहरूका अनुसार, देवी पार्वतीले १०७औँ जन्मसम्म पनि महादेवलाई आफ्नो पतिका रूपमा पाउन नसक्दा कठोर तपस्याको फलस्वरूप १०८औँ जन्ममा उनलाई पतिका रूपमा प्राप्त गरिन्। पार्वतीले महादेव पति पाउन भनी दरका रूपमा रातमा एक अञ्जुली पानी मात्र पिएर भोलिपल्ट निराहार व्रत गरेको किंवदन्ती छ । यसर्थ, तीजको दिनलाई आफ्नो इच्छा पूरा हुने मान्यताका साथ वैवाहिक सुख वा आदर्श पतिका लागि तीन दिनसम्म महिलाहरूले शुभ दिनको रूपमा लिन्छन्। आफ्नो पतिको दीर्घायु र सुस्वास्थ्यको रूपमा व्रत बसी महादेवको पूजा-आराधना गर्दै यो पर्व मनाइन्छ। हरेक चेलीबेटी आ-आफ्नो अघिल्लो रात मीठो-मीठो खाना दरका रूपमा खाने प्रचलन छ। व्रतका दिन सम्पूर्ण हिन्दु नारीले आफ्नो पतिको दीर्घायुको कामना गर्दै राता चुरा, टीका, पोते र सारी लगाई नाचगान गर्छन्। गीतकै माध्यमबाट आफ्नो वैवाहिक जीवन भित्र भएका सुख दुःख अभिव्यक्त गर्ने गर्दछन्।
तीज सबै नारी जातिको सम्मान हुने चाड हो। चाहे त्यो धनी परिवारकी नारी होस् या गरिब सबै नारीले आफ्नो पतिको दीर्घायुको कामना गरी शुभ लाभ प्राप्त गर्नु हो। हाम्रो समाजमा चेलीबेटीहरू हरितालिका तीजको अवसर पारेर माइती घर जाने प्रचलन छ। उनीहरू वर्ष दिनभरि आफ्नो घरमा भोगेका सुख दुःखहरू आफ्ना बुवा आमा, दाजुभाइसित दिदीबहिनीले पोख्ने हाम्रो नेपाली समाजको चलन छ तर, हाम्रो सहरी समाज भने आधुनिकताको नामा नारीमा घोर अन्याय गरिरहेको पाइन्छ। देशका ठुला प्रशासनमा रहेका व्यक्तिहरूबाट नै यस्तो कार्यमा सहयोग प्राप्त हुन्छ भने देशको संविधान र देशका नागरिकको अवस्था कति दयनीय र कठिन हुँदै जान्छ सहजै अनुमान गर्न सकिन्छ।
अहिले पनि तीजको नाममा एक महिना अघिदेखि नै नेपाल र विश्वको हरेक कुनामा छरिएर बसेका नेपाली समुदायमा तीज एउटा उत्सवको रूपमा मनाउने चलन बनेको छ। महिनौँ दिनसम्म डिजे को तालमा , नाना थरिका गीतहरूमा नाचेर, खाएर यस्तो फलदायी समय खेर फल्ने गरिएको छ। यो एउटा होड बाजी नै बनेको छ नेपाली समाजमा, अहिले पनि तीज हुने खाने र सहर र विदेशमा बस्ने उच्च आर्थिक स्रोत भएकाहरूलाई रमाइलो र दुर्गम र आर्थिक रूपमा विपन्न भएका नेपाली महिलाहरूलाई अभिसाप बनेको छ। अहिलेको महँगीमा के नेपालका हरेक नेपाली महिलाले तीज महिनौँ दिनसम्म ताम झामको साथ मनाउन सक्छन्-एक छाक जुटाउन गाह्रो भएका महिलालाई तीज मनाउन रहर छैन होला र ? के चाड पर्व, जात्रा, उत्सव भनेको हुने खानेलाई मात्र हो ? हुँदा खानेले कसरी मनाउने एक एक महिना सम्म तीज को रमझम ? के यस विषयमा कुनै सङ्घ संस्था वा नारी उत्थानमा काम गर्ने महिलाहरू स्वयंले सोचेका छन् होला त ? अब तीजलाई देश काल र परिस्थिति अनुसार सुहाउँदो तारिकमा मनाउन सक्नुपर्छ जसले सामाजिक मूल्य मान्यता र गरिमालाई बचाइराख्न सकोस् न कि एक अर्काको देखासिकी गर्दै प्रतिस्पर्धाको भावनाले ऊभन्दा म के कम उसले यस्तो गर्छ भने म उस्तो गर्छु भनेर गर्नु हुन्न, सामूहिक हित हुने खालको हुनुपर्छ अब हाम्रो चाड पर्व र संस्कृतिहरू।
वास्तवमै अहिले तीज नारी मुक्ति, नारी स्वतन्त्रता वा नारी अधिकारको लागि नभएर नारीमा कुण्ठा हीनताबोध बढाउनतिर अग्रसर त भइरहेको छैन ? के वास्तवमै यो चाड सही रूपमा मनाइँदै छ त ? यो सब सोच्ने बेला आएको छ नत्र यसले समाजमा धेरै विकृति र विसङ्गति भित्र्याउन सक्ने निश्चित छ।
अझ महत्त्वपूर्ण कुरा हो भने नारी पर्व तीज संस्कृतिका बारेमा हामीले विदेशमा हुर्किँदै गरेका सन्तानलाई सिकाउनुपर्छ तर सिकाउँदा जहिले पनि राम्रो कुरा र राम्रो ज्ञान दिन जरुरी हुन्छ, यो चाड एउटा फेसन होइन नकी सुन्दरी प्रतियोगिता नै यो त नारीहरूले मनाउने एउटा पवित्र र गरिमामय चाड हो। नारीले वर्ष दिनमा एक दिन मनाउने स्वतन्त्रतापूर्वक र सङ्गीतमय चाड हो।
केही नारीले समानता र अधिकार पायो भन्दैमा रमाइहाल्ने स्थिति छैन। अहिले पनि महिला दिदीबहिनीका दुःख, पीडा, वेदना र मर्मलाई उजागर गर्न निकै कसरत गर्नुपर्ने अवस्था रहेको छ। वास्तवमा महिला भएकै कारण कतिपय कुराबाट वञ्चित हुनु नेपालको परिप्रेक्ष्य गाउँमा मात्र होइन सहरमा पनि एउटा दुःखदायी कुरा हो। यसपालिको (हरितालिका) तीजले सम्पूर्ण नरनारीको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने छ ।