
काठमाडौं ५ चैत । सोमबार राति काठमाडौंको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट बरामद भएको ठूलो परिमाणको रकम सबै विदेशी मुद्रा मात्रै रहेको खुलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौंले आज पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार १३ लाख ७४ हजार १ सय ५० युरो अनि ३ लाख २० हजार ८ सय १५ अमेरिकी डलर भेटिएको हो।
अमेरिकी डलर १०० दरका तीन हजार एक सय उन्नाईस वटा नोट, ५० दरका एक सय उनान्असी वटा नोट त्यस्तैगरी ५०० दरका युरो एघार थान, २०० दरका युरो चार सय असी थान, १०० दरका युरो चार हजार एकसय अड्चालिस र ५० दरका सत्र हतार एक सय सतहत्तर थान युरो रहेका छन् ।

बरामद भएको विदेशी मुद्रा आजको विनिमयदर अनुसार पच्चिस करोड उन्नाईस लाख चौबिस हजार नौ सय पचास हुन आउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विभिन्न व्यक्तिहरुले ठुलो परिमाणमा अमेरीकी डलर, युरो लगायत मुद्राहरु राजश्व छली गरी अवैध रुपमा ओसार पसार तथा कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले सोमबार राती ११ बजे टोखा नगरपालिका-२ झोरमा ना. ७ ख १६५२ नं.को मालबाहक ट्रक बाट उक्त रकम बरामद गरेकव हो ।
उक्त रकमसहित पक्राउ परेका फुच्ने भनिने कुसान लामा सो रकम लिएर चीनको सीमानाका केरुङ जाँदै गरेको खुलेको छ ।
विगतमा सुन तस्करीको अभियोगमा पाँच वर्ष जेल बसिसकेका सिन्धुपाल्चोकका ४३ वर्षीय लामाले ना ७ ख १६५२ नम्बरको ट्रकमा चालक सिट पछाडि फल्स बटम बनाएर रकम राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका लामालाई प्रहरीले मंगलबार दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । अवैध तरीकाबाट भन्सार तथा राजस्व छलि अवैध विदेशी मुद्राको कारोवार गरेको अभियोगमा थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाईएको व्युरोका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।
प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । उनी ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए ।