- सचिन्द्र श्रेष्ठ
भर्खरै तीज सकिए पनि केही महिना देखि यसको हर्ष उल्लास सामाजिक सञ्जालमा छताछुल्ल देख्न पाइयो सोही अनुरूप फेरी अर्को लफडा केही दिन देखि देखिँदै आएको छ त्यो थियो गणेश चतुर्थीका दिन भक्तजनले ‘केक’ काटेको दृश्यले फेरी सामाजिक सञ्जालमा समर्थन र आरोप प्रत्यारोप चलेको छ।
बिशेषत हाम्रो धार्मिक आस्था ,सद्भाव र स्वतन्त्रता माथि कसैको हस्तक्षेप जायज होइन ।आफूले मान्ने संस्कृति होस् या परम्परालाई दिगो राख्नु पर्ने हुन्छ तर बदलिँदो समय परिवर्तन सँगै हाम्रो भाषा,संस्कार पनि अहिले पाश्चात्य शैलीको आगमन हुनुले यसमा व्यापक बदलाव आएको पक्कै हो।
मन्दिरमा केक काट्नु ठिक हो या होइन भन्ने बहस होला, हुन त यो पहिलो घटना होइन। जनकपुरको जानकी मन्दिरमा केही भक्तजनहरूले जन्मदिन र वैवाहिक कार्यक्रम मनाउने उद्देश्यले २०७७ वैशाख ताका केक काटेको दृश्यले ठुलो रूप लियो। अघिल्लो महिनामा हाम्रै नेपाली नायिकाको आमाको जन्मदिनमा मन्दिरमा नै केक काटेर मनाइयो तर त्यसले सामाजिक सञ्जाल तातिएन। लाग्छ की केक काट्नु आफूलाई भाग्यमानी वा गौरव महसुस गर्दछन्।
हाम्रो समाज नै अहिले उल्टो दिशा तर्फ मोडिएको जस्तो देखिन्छ।आधुनिकताको नाममा बढिरहेको विकृतिले नेपाली समुदाय बिस्तारै पाश्चात्य शैलीको गुलाम हुने अवस्था आउन बेर लाग्दैन।
चथा:/चख: (गणेश चतुर्थी)का दिन मरु गणेश अशोक विनायक स्थानमा भक्तजनले केक कट्नु न्यायोचित हो की होइन भन्ने पनि होला। हुन त श्रद्धा र आस्थाले अन्य फलफूल, प्रसाद, लड्डु पनि चढाउन सकिन्थ्यो होला तर किन केक नै काटियो भन्ने मुख्य कुरा हो।
किनकि केक काट्ने चलन आजकल फेशन नै भई सकेको छ। जन्मदिन होस् या व्रतबन्ध हरेक शुभ कार्यमा केक काट्ने प्रवृत्ति बढेको छ। यति सम्म बढ्यो अब केक काट्न र चढाउन मन्दिर मानै पुग्न पर्ने भयो।यस्तै भयो भने भोलीका दिनमा ‘हैप्पी बर्थडे कृष्ण, लक्ष्मी, गणेश, शिव पार्वती’ भन्ने दिन आउँछ जबकि केक काट्ने प्रचलन हाम्रो पक्कै होइन।
साना बालबालिकालाई केक काटेर उत्सव मनाउने वा केक मात्रै काटेर भए पनि रमाइलो गर्ने परिपाटीलाई अहिले बुढा पाका तन्नेरीहरू देखि वृद्ध सम्मले फेशन गर्ने बानी बस्यो। त्यहीको लतले मन्दिर सम्म पुग्न थालेको हो। खुसीयाली साटासाटको केक भन्दा अरू केही छैन भन्ने भान परेको छ।
यो घटनामा मन्दिरले गलत परम्पराको सुरुवात गरी अनुसरण गर्न लागेको हो मन्दिरले नै जानोस् तर, हाम्रो संस्कृति ,परम्परा रीतिरिवाजमा यस्तो क्रियाकलापको आलोचना वा बहस हुनु पर्दछ। परम्परा संस्कृतिहरू पनि हाम्रा आफ्नै जाति समुदाय सम्प्रदायको पहिचानको रूपमा रहेको हुन्छ । त्यही पहिचानको रूपमा रहेका कतिपय संस्कृतिहरू अहिले विकृतिको रूपमा छ।
यस लेखकले केक नराम्रो भनेर भन्न खोज्या होइन, केक तथा बेकरीका परिकारको व्यवसाय गरिरहेकालाई असर गर्ने नियत होइन। मात्र हाम्रो परम्परा संस्कारलाई कुन बेला कसरी प्रयोग गर्न सकिन्छ भन्ने हो।
नेवा:संस्कृतिको चाडपर्व वा मन्दिरमा ‘अएला’ रक्सी चढाउने र खाने परम्परा जीवित नै छ तर रक्सी नखानेलाई कर र प्रसादका नाममा खानै पर्छ भनेर लादिएको छैन। यही भनिरहँदा बलि दिने प्रथा पनि जोड्न सकिन्छ। एकाथरी काटमार गर्न हुन्न भन्नेको जमात छ त अर्को थरी धार्मिक संस्कारका नाममा पशु वली चढाइने परम्परा कायम छ।
सबै धर्म सम्प्रदायले आफ्नो आफ्नो तरिकाले मान्ने चलन छ तर अहिले सबै भन्दा बढी अझ भन्नु पर्दा धर्म निरपेक्ष भन्ने संस्कारले जातीय संस्कृति र हिदुत्वलाई नै केही असर पारेको देखिन्छ। हाम्रो समाज नै अहिले उल्टो दिशा तर्फ मोडिएको जस्तो देखिन्छ। आधुनिकताको नाममा बढिरहेको विकृतिले नेपाली समुदाय बिस्तारै पाश्चात्य शैलीको गुलाम हुने अवस्था आउन बेर लाग्दैन।
हाम्रा आफ्नै मौलिक परिकारहरू बिस्तारै विस्थापित हुँदै जानु नै हाल देखा सिकी र पश्चिमेली शैलीको अनुसरण गर्नु हो। जसले आगामी सहरी बिलसिता जीवनलाई बिस्तारै अँगाल्दै गई रहेका छन्। घरमै बनाउने मिठाइ र अन्य परिकारहरूको महत्त्व, तिनमा हुने पौष्टिक गुण, स्वास्थ्यका हिसाबले पनि फाइदा जनक हो तर भिडियो, फोटो प्रदर्शन गर्ने, सामाजिक सञ्जालमा पोस्ट गर्ने नियति नै अहिलेको मुख्य समस्या हो । तसर्थ, भावी पुस्तालाई आफ्नो संस्कृति र संस्कार बारे स्कुल तह देखिनै सिकाउन जरुरी छ।
हाम्रा भाषा, संस्कृति, मौलिकता, भेसभुसा, रहनसहनको पहिचान रहेसम्म हामी नेपालीको अस्तित्व रहने हुँदा यसको जगेर्ना संरक्षण अति आवश्यक छ।