फिल्म बाजीगरको छायांकनको क्रममा शाहरुखले अभिनेता आमिर खानलाई काजोलसँग काम नगर्न सल्लाह दिएका थिए । आमिरले कुनै प्रोजेक्टलाई लिएर काजोलको बारेमा सोध्दा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । शाहरुखले उक्त समयमा काम गर्न नसकिने अभिनेत्री भन्दै काजोलको चर्चा गरे । यसको कारण थियो, पहिलोपटक काम सहकार्य भइरहेको थियो । पहिलोपटक काम गरिरहेका थिए र एक अर्कासँग चिनजान थिएन ।
काजोलको बढी बोल्ने र टिप्पणी गर्ने बानी शाहरुखलाई मन परेको थिएन । काजोललाइ पनि केही कुरामा शाहरुख ठिक लागेको थिएन । यसैले गर्दा छायांकनको क्रममा यी दुईको झगडा पनि भयो । यसलाई शाहरुख स्वयंले एक अन्तर्वार्ताको क्रममा बताएका छन् । यद्यपि जसरी छायांकनमा यी दुईको भेटघाट हुँदै गयो, एक अर्कालाई बुझ्दै गए । र, पछि यी दुई राम्रो साथी बने ।
शाहरुखले अन्तर्वार्ताकै क्रममा भनेका छन्,’आमिरलाई काजोलको बारेमा प्रतिक्रिया दिएपछि मैले त्यही दिन बेलुकी फेरि फोन गरें । मैले मेरो व्यक्तिगत कारण त्यस्तो प्रतिक्रिया दिएको र काजोल राम्रो अभिनेत्री रहेको बताएँ । मन हल्का भयो । पछिल्लो समयसम्म मेरो मिल्ने साथीमध्येकी एक हुन् काजोल ।’ यी दुईको सम्बन्ध बेलाबखतमा बिग्रिने पनि गरेको छ, यद्यपि अन्त्यमा जीत मित्रताकै हुने गरेको छ । यी दुईलाई स्क्रिनमा जोडीको रूपमा दर्शकले अझै हेर्ने चाहना सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहेका छन् ।