पोहोर साल सलह कीराले खेत बारीमा लगाएका अन्न बालीहरू तहसनहस गरेको थियो भने यो साल असोज ३१- कार्तिक २ सम्मको बेमौसमी वर्षाका कारणले किसानहरूको मुख्य बाली धानलाई असर गरेको छ । त्यस्तै देशमा बेमौसमी वर्षाका कारण धेरै जन धनको क्षति पनि भएको छ भने बाढी पहिरोले कतिको बस्ती नै उजाड गरेको छ।
यो वर्षाले दसैँ मनाउन गाउँ गाउँ गएका मानिसहरूलाई आफ्नो कार्य क्षेत्र फर्किदा बाटो हरू बिग्रिएर सास्ती पनि भएको छ । हाँसी खुसी दसैँ मनाएर फर्किदा नरमाइलो भएको महसुस पनि धेरैले गरेका छन् । म पनि दसैँ मनाउन आफ्नो जन्मथलो जुम्लामा थिए र बेमौसमी वर्षाका कारण मैले देखेको र किसानहरूले भोगेको दुःख कष्ट हरूको बारेमा यो लेख तयार पारेको छु ।
नेपाल एक कृषि प्रधान देश हो। यहाँका ८० प्रतिशत मानिस कृषिमा आबद्ध छन्। महिनौँ दिनको मेहनत पछि घरमा भित्राउन ठिक्क भएको बालीनाली वर्षाका कारण सबै तहसनहस हुँदा किसानहरू खेतबारीको डिलमा बसी आँखाबाट बलिन्धरा आँसुको वर्षा झार्दै नष्ट भएका बालीहरू हेर्दै बसेका छन्।यो वर्षाले जुम्लामा फल्ने मार्सी धानलाई पनि नष्ट गरेको छ ।
निरन्तरको वर्षापछि आएको बाढीले मार्सी धान फल्ने जुम्लाको फाँट बगरमा परिणत भएको छ । जसका कारण काटेर भित्र्याउन ठिक्क पारेको धान डुबेर नष्ट मात्रै भएको छैन जुम्लाबाट मार्सीको बिउँ नै मासिने जोखिम बढेको छ । जुम्लामा दुई हजार नौ सय हेक्टरमा मार्सी धान खेती गरिएको थियो। त्यसमध्ये दुई हजार हेक्टर जमिनमा लगाएको धान नष्ट भएको छ । बाँकी नौ सय हेक्टरको धानमा पनि क्षति पुगेको छ ।
मैले जुम्लामा आफ्नो जीवनकालमा भोगेको र देखेको पहिलो दर्दनाक अवस्था हो । असोज ३१- कार्तिक २ सम्मको अविरल वर्षाले खानेपानी ,विद्यालय, विद्युत, सिचाई, खेतबारी, धानबाली, काठेपुलहरु, सडक बाटो आदि क्षेत्रमा पुर्णरुपमा क्षति पुर्याएको छ।
सायद सङ्घीय राजधानी देखि टाढा भएर हो की दुर्गम भनी हेर्ने दृष्टिकोण फरक भएर हो, जुम्लामा बाढीले खेतबारीमा लगाएको अन्न वाली तहस नहस हुँदा पनि राज्यको आँखा जुम्लातिर परेन । उच्चस्तरमा भएका व्यक्तिहरूले आफ्नो गृह जिल्ला भ्रमण गरी राहतको आश्वासन दिए पनि जुम्लामा भने कसैको नजर परेन । सायद सदियौँ काल देखि दुर्गम भनी हेपिएको भएर होला। दुर्गमलाई हतियार बनाएर रोजीरोटी खाने एनजिओ र आईएनजीओले पनि कुनै किसिमको राहत दिएको पाइएन। दुःख गर्दा गर्दै पनि खान लाउन नपुगेर काला पहाड जाने दुर्गमका जनताहरूलाई यो पटकको बेमौसमी वर्षाले भोकमरी हुने प्रस्ट देखिएपछि झन् दुखी बनाएको छ ।
औचित्य हिन प्रदेश सरकार, दुःखी कर्णालीवासीको दुःख यथावत्!
कर्णालीको दुःख न प्रदेश सुन्छ न त केन्द्र नै, उनीहरू सुन्ने र गर्ने कुरा त केवल फोहरी कु-राजनीति रहेछ।
यति भयानक विपत्तिमा पनि सङ्घ र प्रदेश सरकार बेवास्ता गरेको भन्दै किसानहरू दुखी र आक्रोशित भएका छन्। ‘जनताको दुःखको बेला दुःख बुझ्न नआउने जनप्रतिनिधि र सरकार चुनावताका खेत खेतमा धान रोप्न सहयोग गरेजस्तो गर्दै भोट माग्न आउँछन्,यो त उनीहरू सबैको झुटको खेती रहेछ , कहिले घर त कहिले खेतमा आउनेको अनुहार र व्यवहार राम्रैसँग चिनियो ’ भन्छन् पीडित किसानहरू। बाढीपीडित किसानहरू आफ्नो धान खेतको कुनै अवशेष नरहेको बताउँछन् ।खेतबाट धान सङ्कलन गरी ल्याउनु पर्ने हो तर बाढीले ल्याएको दाउरा सङ्कलन गर्नेबाहेक अरू सबै गुमेको बताउँछन् किसानहरू।
बाढीले धान खेत कामै नलाग्ने गरी क्षति पुर्याएपछि अहिले जुम्लाका पीडित किसानहरू सरकार गुहारिरहेका छन् । उनीहरू भन्छन्- ‘सरकार सेतो चामल नदेऊ यहाँको मार्सी धान फल्ने धान खेत बनाइदेऊ ।’
“अन्ततः हाम्रा सम्माननीय प्रधानमन्त्रीले प्राकृतिक प्रकोपले तहसनहस गरिसके पछि देशवासीका नाममा सम्बोधन गर्नु पूर्व वा सम्माननीय मन्त्री तथा उच्च स्तरीय व्यक्तित्वहरूले हेलिकप्टरबाट अनुगमन गर्नु पूर्व राहतका प्याकेज तथा राहत वितरण गरिदिनु भए पीडित जनताहरूले हजुरहरूको उच्च मूल्याङ्कन गर्दै हजुरहरूको जयजयकार गर्दै सरकारले आपतविपत पर्दा पीडितहरूलाई सहयोग गरेर आफ्नो कर्तव्य पूरा गरेको भन्दै हजुरहरूलाई नेपाली जनताले मुरी का मुरी धन्यवादका साथै आशीर्वाद पनि दिने थिए। “
जुम्ला घर भएका लेखक बाल गोपाल देवकोटा एभरेस्ट इन्जिनियरिङ कलेज सानेपा, ललितपुरका ब्याचलर इन सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन् । उनी केटिएम दैनिकका नियमित स्तम्भकार हुन। उनले साहित्यिक र समसामयिक विषयमा कलम चलाउन रुचाउँछन्।