काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथि लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको छ ।
थाइल्यान्डमा फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी) का अध्यक्षसहितका पदाधिकारीसँग छलफल गरेर स्वदेश फर्किएका मन्त्री पोखरेलले निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको जानकारी दिएका हुन् ।
उनका अनुसार फिफा र एएफसी एन्फाको तहगत निर्वाचन गराउन सहमत भएका छन् । निर्वाचन कुन प्रक्रिया र मोडालिटीबाट गर्ने भन्ने विषयमा भने टुङ्गो लाग्न बाँकी छ । यसका लागि फिफाले आगामी डिसेम्बरमा प्रस्तावसहितको रोडम्याप नेपाल पठाउनेछ ।
मन्त्री पोखरेलले फिफाले नै एन्फाको निलम्बन फुकुवाको प्रक्रिया अघि बढाउने र तहगत निर्वाचनका लागि डिसेम्बरसम्म रोडम्याप उपलब्ध गराउने सहमति भएको बताए ।
एन्फाको निर्वाचन वर्तमान नेतृत्वबाटै गर्ने वा अन्तरिम समिति गठन गरेर अघि बढ्ने भन्ने विषयमा भने निर्णय हुन बाँकी रहेको उनले स्पष्ट पारे ।
उनका अनुसार फिफाले नेपाली फुटबलमा सरकारको भूमिकालाई यसअघि ‘थर्ड पार्टी इन्टरफेरेन्स’ अर्थात् तेस्रो पक्षको हस्तक्षेपका रूपमा बुझेको थियो । तर, सरकारले नेपालको कानुन र राज्यको अधिकारबारे स्पष्ट पारेपछि फिफा सकारात्मक बनेको मन्त्री पोखरेलले बताए ।
‘राज्यले गर्ने काम आफैँ गर्छ । देशको कानुनअनुसार काम हुन्छ । त्यसबाहेक हामीले कुनै हस्तक्षेप गर्दैनौँ भनेर जानकारी गरायौँ । त्यसमा उहाँहरू सकारात्मक हुनुभयो,’ उनले भने ।
सरकारले नेपाली फुटबलप्रति देखाएको चासोलाई पनि फिफाले सकारात्मक रूपमा लिएको उनको भनाइ छ ।
एएफसी अवार्ड समारोहमा सहभागी हुन थाइल्यान्ड पुगेका मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका थिए । सोही क्रममा उनले फिफा अध्यक्ष इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् ।