काठमाडौँ – कतारको दोहामा जारी एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार बलियो प्रतिद्वन्द्वी भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ।
समूह ‘बी’ अन्तर्गतको उक्त खेल दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।
सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने नेपाली टोलीका लागि प्रतियोगिताको पहिलो खेल नै कठिन चुनौतीका रूपमा रहेको छ। नेपालको समूहमा भारत ‘ए’ सँगै पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) छन्।
शुक्रबार नै बिहान ११ः४५ बजे समूह ‘बी’ को अर्को खेलमा पाकिस्तान ‘ए’ र यूएई आमनेसामने हुँदैछन्।
नेपाली टोलीमा कप्तान सन्दीप लामिछानेसहित सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, सन्दीप जोरा, पवन सर्राफ, लोकेश बम, देव खनाल, वसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, राशिद खान, ईशान पाण्डे, दीपक डुम्रे र अभिषेक गौतम छन्।
भारत ‘ए’ मा अनुभवी खेलाडीको बाहुल्यता
तिलक वर्माको कप्तानीमा मैदान उत्रने भारत ‘ए’ मा सिनियर अन्तर्राष्ट्रिय क्रिकेट तथा इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका अनुभवी खेलाडीको बाहुल्यता छ।
कप्तान तिलक वर्मा, रिंकु सिंह, आक्रामक ब्याटर अभिषेक शर्मा र १४ वर्षीय युवा खेलाडी वैभव सूर्यवंशी भारतीय टोलीका प्रमुख आकर्षण हुन्।
भारत ‘ए’ को टोलीमा विकेटकिपर ब्याटरका रूपमा प्रभसिमरन सिंह र कुमार कुशाग्र छन्। त्यस्तै, अलराउन्डरतर्फ सूर्यांश शेड्गे, शाहबाज अहमद, विप्रज निगम, हर्ष दुबे र तनुष कोटियन रहेका छन्।
बलिङतर्फ हर्षित राणा, प्रिन्स यादव र अर्शद खानजस्ता तीव्र गतिका बलर छन्। तीव्र गति र स्पिन दुवै बलिङ विकल्प तथा आक्रामक ब्याटिङ क्षमता रहेको भारत ‘ए’ विरुद्ध नेपालले सुरुदेखि नै कसिलो बलिङ र अनुशासित ब्याटिङ गर्नुपर्ने देखिन्छ।
समूह चरणमा नेपालले भारत ‘ए’ पछि आइतबार यूएई र मंगलबार पाकिस्तान ‘ए’ सँग खेल्नेछ।
आठ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा अफगानिस्तान ‘ए’, बंगलादेश ‘ए’, श्रीलंका ‘ए’ र हङकङ छन्।
सिंगल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने समूह चरणबाट दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताका सेमिफाइनल खेल मंसिर ११ र १२ गते तथा फाइनल खेल मंसिर १४ गते हुनेछ।