काठमाडौँ । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ।
बिहीबार भएका सेमिफाइनल खेलमा पाकिस्तानले बंगलादेशलाई ६ विकेटले तथा भारतले श्रीलंकालाई १२४ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।
वर्षाका कारण १३ ओभरमा घटाइएको पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले १३ ओभरमा ७ विकेट गुमाएर १११ रन बनाएको थियो। ११२ रनको लक्ष्य पाकिस्तानले ११.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
दोस्रो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो। भारतका लागि इशान किशनले सर्वाधिक ८० रनको योगदान गरे।
१७० रनको लक्ष्य पछ्याएको श्रीलंका भने ९.५ ओभरमै ४५ रनमा अलआउट भयो। भारतले १२४ रनको फराकिलो जित निकाल्दै फाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको हो।
भारत र पाकिस्तानबीचको फाइनल शनिबार बिहान १०ः१५ बजे सुरु हुनेछ।
त्यसअघि तेस्रो स्थानका लागि श्रीलंका र बंगलादेशबीच शनिबार बिहान ५ः४५ बजे प्रतिस्पर्धा हुनेछ।