चन्दा क्षेत्री/नागोया
जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। करातेका तेन्जिङ शेर्पाले पुरुष कुमितेको ८४ केजीभन्दा माथिको तौल समूहमा कांस्य पदक जित्दै नेपाललाई पहिलो पदक दिलाएका हुन्।
टोयोहाशी सिटी जनरल जिम्नेसियममा बुधबार भएको कांस्य पदकको रिपिचेज खेलमा तेन्जिङले लाओसका वात्थाना सायासानलाई ९–१ ले पराजित गरे। तेन्जिङले एक इप्पोनबाट ३ र छ युकोबाट ६ अंक जोड्दै कुल ९ अंक बनाए।
तेन्जिङको पदक यात्रा क्वाटरफाइनलबाट अघि बढेको थियो। उनले मकाउका ओन टेक लेओङलाई हान्सोकुका आधारमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए।
त्यसपछि सेमिफाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भए। नेमाती फाइनलमा पुगेपछि तेन्जिङले रिपिचेजमार्फत कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए।
रिपिचेजको निर्णायक खेलमा लाओसका वात्थाना सायासानलाई ९–१ ले हराउँदै तेन्जिङले कांस्य जिते। यससँगै उनी २०औँ एसियाली खेलकुदमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेका छन्।