काठमाडौं। जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला टिम कातामा नेपाल पदकविहीन भएको छ।
तोयोहाशी जिम्नेसियममा मंगलबार भएको कांस्य पदकको भिडन्तमा सानुमाया थिङ, एलिशा रास्कोटी मगर र मेघा लिम्बू सम्मिलित नेपाली टोली चाइनिज ताइपेइसँग ५–० ले पराजित भयो। एसियाली खेलकुदमा पहिलोपटक महिला टिम कातामा प्रतिस्पर्धा गरेको नेपालले यससँगै पदकको अवसर गुमाएको हो।
नेपाल क्वार्टरफाइनलमा भियतनामसँग पनि ५–० ले पराजित भएको थियो। भियतनाम फाइनलमा पुगेपछि नेपालले रिपाचेजमार्फत कांस्यका लागि प्रतिस्पर्धा गर्ने अवसर पाएको थियो।
यससँगै कातामा नेपालको चुनौती समाप्त भएको छ। नेपालले यसपटक काताका दुई तथा कुमुतेका पाँच तौलसमूहमा प्रतिस्पर्धा गरेको थियो। महिला एकल कातामा सानुमाया दक्षिण कोरियाकी चोइ हाइउनसँग ५–० ले पराजित भएकी थिइन्।
यसअघि गत संस्करणमा ऐतिहासिक रजत जितेकी एरिका गुरुङसहित मीनबहादुर तामाङ र राकेश मानन्धर पनि कांस्य पदकको भिडन्तमा पराजित भएका थिए। योसँगै नेपाली कराते टोली चौथोपटक पदक भिडन्तमा असफल भएको छ।