चन्दा क्षेत्री/नागोया, जापान।
जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत उसुको महिला छाङछ्वानमा नेपालकी सुस्मिता तामाङ १३औँ स्थानमा रहेकी छन्।
सोमबार भएको महिला छाङछ्वानको प्रतिस्पर्धामा सुस्मिताले ९.५८० अंक प्राप्त गरिन्। १६ खेलाडी सहभागी प्रतिस्पर्धामा उनी १३औँ स्थानमा रहिन्। उनले भियतनाम, भारत र आयोजक जापानका खेलाडीलाई पछि पारिन्।
महिला छाङछ्वानमा हङकङकी लिडिया साम हुई–यु ९.७१३ अंकसहित स्वर्ण जितिन्। मकाउकी साउ चो–मानले ९.७१० अंकसहित रजत तथा इन्डोनेसियाकी डिभा युजेनिया विडोडोले ९.७०६ अंकसहित कांस्य पदक जितिन्। स्वर्ण र रजतबीच ०.००३ तथा रजत र कांस्यबीच ०.००४ अंकको मात्र अन्तर रह्यो।
सुस्मिताको ९.५८० अंक स्वर्ण विजेता सामभन्दा ०.१३३ अंक र कांस्य विजेता विडोडोभन्दा ०.१२६ अंक कम हो।
सुस्मिताको यो लगातार चौथो एसियाली खेलकुद सहभागिता हो। यसअघि हाङझाउमा भएको १९औँ एसियाली खेलकुदमा महिला छाङछ्वानमा उनले ९.४१० अंकसहित आठौँ स्थान हासिल गरेकी थिइन्।
सुस्मिताले २०१९ मा नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुदमा ९.४४ अंकसहित महिला छाङछ्वानमा स्वर्ण पदक जितेकी थिइन्।
एसियाली खेलकुदमा नेपालको उसुले अहिलेसम्म पदक जित्न सकेको छैन। सुस्मिताको नतिजासँगै यसपटक महिला छाङछ्वानमा नेपालको चुनौती समाप्त भएको छ।