चन्दा क्षेत्री/नागोया, जापान।
जापानमा जारी २०औँ एसियाली खेलकुदको महिला भलिबलमा नेपालले पहिलो जित निकालेको छ। नेपालले आइतबार क्लासिफिकेसन खेलमा कीर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
ओकाजाकी चुओ सोगो पार्क जिम्नेसियममा नेपालले पहिलो सेट २५–२० ले जित्यो। दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको नेपालले तेस्रो सेट २५–२० ले जित्दै खेल ३–० ले टुंग्यायो।
नेपालले समूह चरणमा भने दुवै खेल गुमाएको थियो। समूह ‘ए’को पहिलो खेलमा आयोजक जापानसँग २५–८, २५–१२ र २५–११ ले पराजित भएको नेपाल दोस्रो खेलमा इन्डोनेसियासँग २५–१२, २५–२१ र २५–२० ले हार बेहोरेको थियो। लगातार दुई हारसँगै नेपालको क्वार्टरफाइनल यात्रा समाप्त भएको थियो।
समूह चरणबाट बाहिरिएपछि नेपाल ९–१४औँ स्थानको क्लासिफिकेसनमा पुगेको हो। कीर्गिस्तानमाथिको जितसँगै नेपालले अब ९–१२औँ स्थानका लागि हङकङसँग प्रतिस्पर्धा गर्नेछ।
महिला भलिबलमा १४ टोली सहभागी छन्। कीर्गिस्तानमाथिको जितसँगै नेपालले एसियाडमा आफ्नो स्थान सुधार गर्ने अवसर कायम राखेको छ।