चन्दा क्षेत्री/नागोया, जापान।
नेपालबाट पदकको ठूलो आशा गरिएकी कराते खेलाडी एरिका गुरुङ जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदमा पदकविहीन भएकी छन्।
महिला ६८ केजीमाथिको कुमितेमा एरिका आइतबार कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा साउदी अरेबियाकी दिना अहमदसँग ८–७ ले पराजित भइन्। यससँगै एरिकाको यसपटक पदक जित्ने सम्भावना समाप्त भएको छ।
यसअघि सेमिफाइनलमा एरिका काजाकिस्तानकी साफिया बेरुल्टसेभासँग २–१ ले पराजित भएकी थिइन्। एरिकाले सुरुवातमा अग्रता लिए पनि खेलको अन्तिमतिर बेरुल्टसेभाले अंक फर्काउँदै जित हात पारेकी थिइन्।
क्वार्टरफाइनलमा भने एरिकाले जोर्डनकी यारा नासेरलाई ७–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी थिइन्।
यसअघि हाङझाउमा भएको १९औँ एसियाली खेलकुदमा एरिकाले महिला ६८ केजीमाथिको कुमितेमा रजत पदक जितेकी थिइन्। यसपटक पनि पदकको दाबेदारका रूपमा हेरिएकी एरिका सेमिफाइनल र कांस्य पदकको खेल दुवैमा पराजित भएपछि पदकविहीन बनेकी हुन्।