काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका एकदिवसीय कप्तान सन्दीप लामिछानेले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेटमार्फत नेपालीलाई खुशी दिन सकेकोमा गर्व लागेको बताएका छन्।
एसीसी प्रिमियर कपको उपाधि जितेर आइतबार राति स्वदेश फर्किएका लामिछानेले सफलताको श्रेय खेलाडी मात्रै नभई समर्थक र पर्दापछाडिका सबैलाई जाने बताए।
‘देश दुःखिरहेको बेला क्रिकेटको माध्यमबाट भए पनि खुशी दिन सकिएको छ,’ उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘नेपाल दुःखिरहेको बेला सबैले एक–अर्कालाई साथ दिइरहनुभएको थियो, त्यो निकै प्रशंसनीय थियो।’
शनिबार यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले प्रिमियर कपको उपाधि जित्नुका साथै दोस्रोपटक एसिया कपमा स्थान सुरक्षित गरेको थियो। यसअघि नेपालले सन् २०२३ मा पहिलोपटक एसिया कप खेलेको थियो।
ओमानविरुद्धको सेमिफाइनलमा १४७ रनमै अलआउट भए पनि टोलीले आत्मविश्वास नगुमाएको लामिछानेले बताए। ‘अन्तिम खेलजसरी’ मैदानमा उत्रिने रणनीतिअनुसार नेपालले ओमानलाई ६० रनमै अलआउट गर्दै फाइनलमा स्थान बनाएको उनको भनाइ छ।
फाइनलमा राम्रो विकेट भएकाले टस जितेर ब्याटिङ गर्ने निर्णय सही भएको उनले बताए। आसिफ शेखको शतकसहित नेपालले ३१३ रन बनाएपछि सुरुआती विकेट निकाल्न सके खेल आफ्नो पक्षमा आउने विश्वास रहेको लामिछानेले बताए।
कप्तानका रूपमा पहिलो सिरिजमै उपाधि जित्दै ‘म्यान अफ द टूर्नामेन्ट’ बनेका उनले व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित महत्वपूर्ण रहेको बताए।
‘म्यान अफ द टूर्नामेन्ट व्यक्तिगत रूपमा खुशी लाग्ने उपलब्धि हो । तर टिमको जितमा योगदान गर्न पाएँ भन्ने कुराले अझ खुशी छु,’ उनले भने।
दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, गुल्शन झा, ललित राजवंशी, करण केसी, आसिफ शेख र रोहित पौडेललगायत सबै खेलाडीको योगदान महत्वपूर्ण रहेको लामिछानेले बताए। प्रशिक्षकदेखि व्यवस्थापक र सहयोगी कर्मचारीसम्मलाई उनले सफलताका ‘पर्दापछाडिका हिरो’का रूपमा स्मरण गरे।
प्रिमियर कपपछि केही दिन आराम गरेर एसियन गेम्स र त्यसपछि एसिया कपको तयारीमा जुट्ने उनले बताए।