काठमाडौं– एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किँदै छ। टोली मलेसियन एअरलाइन्समार्फत राति ९ः४५ बजे काठमाडौं आइपुग्नेछ।
नेपालले शनिबार सम्पन्न एसीसी प्रिमियर कपको फाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै उपाधि हात पारेको हो। यससँगै नेपालले दोस्रोपटक एसिया कपमा स्थान सुरक्षित गरेको छ।
नेपालले यसअघि सन् २०२३ मा पहिलोपटक एसिया कप खेलेको थियो। त्यतिबेला समूह चरणमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेको नेपाल दुवै खेलमा पराजित भएको थियो।
यसपटक एसियन क्रिकेट काउन्सिल (एसीसी) ले प्रिमियर कपको विजेताले मात्र एसिया कप खेल्ने व्यवस्था गरेको थियो। त्यसैले एसिया कपमा स्थान बनाउन नेपालका लागि प्रिमियर कपको उपाधि जित्नु अनिवार्य थियो।
फाइनलमा नेपालले पहिले ब्याटिङ गर्दै ३१३ रनको बलियो योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा उत्रिएको यूएईलाई २६९ रनमै समेट्दै नेपालले ४४ रनको शानदार जित निकाल्यो।