काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली एसिसी प्रिमियर कपमा लगातार तेस्रोपटक सेमिफाइनल प्रवेश गरेको छ। समूह ‘ए’ को विजेता बनेको नेपालले अब सेमिफाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र ओमानबीचको महत्वपूर्ण खेल बिहीबार हुँदैछ।
एसोसिएट क्रिकेटका परिचित प्रतिद्वन्द्वी नेपाल र ओमानबीचको भिडन्तलाई निकै चासोका साथ हेरिएको छ। विगतमा निर्णायक खेलमा ओमान नेपालका लागि बाधक बन्दै आएको अवस्थामा यसपटक नेपाली टोलीले कस्तो प्रदर्शन गर्छ भन्ने चासो बढेको छ।
ब्याटिङमा सुधार आवश्यक
समूह चरणमा नेपालले समग्रमा राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा भने अपेक्षाअनुसार सुधार देखाउन सकेन। पहिलो खेलमा बहराइनविरुद्ध सात विकेटको जित निकालेको नेपालले ८८ रनको सामान्य लक्ष्य पूरा गर्न तीन विकेट गुमाउँदै २१ ओभर खेल्नुपरेको थियो।
मलेसियाविरुद्धको दोस्रो खेलमा पनि नेपालको ब्याटिङ प्रभावशाली रहेन। १०४ रनको लक्ष्य नेपालले चार विकेट गुमाएर २१.४ ओभरमा पूरा गरे पनि ब्याटिङमा देखिएको कमजोरी कायमै रह्यो।
समूह चरणको तेस्रो खेलमा साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर ४१ ओभरमा पूरा गर्यो।
कमजोर मानिएका बहराइन, मलेसिया र साउदी अरेबियाविरुद्ध समेत ब्याटिङमा सङ्घर्ष देखिएपछि हङकङविरुद्धको खेललाई विशेष चासोका साथ हेरिएको थियो। तर, हङकङविरुद्ध नेपाल ब्याटिङ र बलिङ दुवैमा अपेक्षाअनुसार प्रदर्शन गर्न असफल भयो।
हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमै अलआउट भयो। सेमिफाइनलअघि यो हारले नेपाली टोलीलाई आफ्नो कमजोरी सुधार्ने अवसर दिएको छ।
क्रिकेट विश्लेषक रवि तिमिल्सिनाका अनुसार समूह चरणमा नेपाली ब्याटरबीच ठूलो साझेदारी बन्न नसक्नु मुख्य कमजोरी रह्यो।
“एकदिवसीय क्रिकेटमा साझेदारी निकै महत्वपूर्ण हुन्छ। एउटा खेलाडी लयमा भएर मात्रै खेल जित्न सकिँदैन। सबै ब्याटरले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्छ,” उहाँले रासससँग भन्नुभयो।
निर्णायक खेलमा समूह चरणका कमजोरी दोहोर्याउन नहुने बताउँदै तिमिल्सिनाले ओमानविरुद्ध ब्याटरले योजनाबद्ध र जिम्मेवार प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो।
बलिङमा नेपाल बलियो
नेपालको बलिङ पक्ष भने समूह चरणमा तुलनात्मक रूपमा बलियो देखिएको छ। विशेषगरी कप्तान सन्दीप लामिछाने उत्कृष्ट लयमा छन्। उनले चार खेलमा २.६० को इकोनोमी रेटमा सर्वाधिक १३ विकेट लिएका छन्। उनी प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्।
अर्का स्पिनर ललितनारायण राजवंशीले पनि प्रभावशाली प्रदर्शन गरिरहेका छन्। उनले चार खेलमा ३.४६ को इकोनोमी रेटमा सात विकेट लिएका छन्।
विश्लेषक तिमिल्सिनाका अनुसार सन्दीपको लयमा फर्किनुले नेपालको बलिङ पक्षलाई थप बलियो बनाएको छ। हङकङविरुद्धको खेलमा केही प्रयोग गरिएको हुनसक्ने उल्लेख गर्दै उहाँले सेमिफाइनलमा भने टोलीले आफ्ना बलिया पक्षलाई प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने बताउनुभयो।
ईशान र अर्जुनको ब्याटिङमा भरोसा
समूह चरणमा नेपालको ब्याटिङतर्फ ईशान पाण्डे सबैभन्दा सफल देखिएका छन्। चार खेलबाट उनले एक अर्धशतकसहित १५१ रन बनाएका छन्। उनको उच्च स्कोर ९० रन रहेको छ।
त्यसपछि अर्जुन कुमालले चार खेलमा ११० रन बनाएका छन्। अन्य नेपाली ब्याटरले भने समूह चरणमा १०० रनको आँकडा पार गर्न सकेका छैनन्।
ब्याटिङमा सुधार गर्दै बलिङको लयलाई कायम राख्न सके नेपालले ओमानविरुद्धको सेमिफाइनल जित्दै फाइनल प्रवेश गर्ने सम्भावना बलियो रहेको विश्लेषक तिमिल्सिनाको भनाइ छ।
“ओमानको टोलीमा धेरै नयाँ खेलाडी छन् र उनीहरूको ब्याटिङ पनि अपेक्षाअनुसार चलेको छैन। त्यसैले नेपालले ब्याटिङमा सुधार गर्न सके फाइनल पुग्न कठिन हुँदैन,” उहाँले भन्नुभयो।
एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा रहेको नेपालका लागि ओमानविरुद्धको सेमिफाइनल एसिया कपमा स्थान बनाउने यात्राको महत्वपूर्ण खुड्किलोसमेत हुनेछ।