काठमाडौं। उरनबायरको उत्कृष्ट प्रदर्शन जारी रहँदा अन्नपूर्ण स्पाइकर किङ्सले नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणमा लगातार दोस्रो जित निकालेको छ। सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अन्नपूर्णले मधेश वारियर्सलाई ३–१ को सेटमा हरायो।
अन्नपूर्णले मधेशलाई २५–१६, ३१–२९, २५–२२ र २५–२१ ले पराजित गरेको हो। अन्नपूर्णको जितमा मंगोलियन खेलाडी उरनबायर नायक बने। उनी लगातार दोस्रो खेलमा ‘म्यान अफ द म्याच’ चुनिए। यसअघि आइतबार काठमाडौं रेड्सविरुद्ध ३–० को जितमा पनि उनी नै उत्कृष्ट खेलाडी घोषित भएका थिए।
योसँगै तीन खेलबाट अन्नपूर्णले ६ अंक जोडेको छ। पहिलो खेलमा कर्णाली शिवराजसँग ३–१ ले पराजित भएको अन्नपूर्णले त्यसपछि काठमाडौं रेड्सलाई ३–० र मधेशलाई ३–१ ले हराएको हो।
मधेशको भने यो लगातार तेस्रो हार हो। उसले यसअघि सगरमाथा स्म्यासर्ससँग ३–१ र काठमाडौं रेड्ससँग ३–२ को हार बेहोरेको थियो।
नेपाल भलिबल संघको सहयोग तथा केडिया ग्रुपको आयोजनामा भइरहेको लिगमा ६ टोली सहभागी छन्। सिंगल राउन्ड रोबिनका आधारमा हुने लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो हुने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्।
प्रतियोगिताको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ छ। विजेताले २० लाख रुपैयाँ प्राप्त गर्नेछ, जुन नेपाली भलिबलमा हालसम्मकै ठूलो पुरस्कार राशि हो।