काठमाडौं। भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र विभिन्न जिल्लामा गएको पहिरोमा परी हालसम्म १ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ४ हजार ९ सय ९६ जना अझै सम्पर्कविहीन छन् । प्राधिकरणले आइतबार बिहान ११ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गरेको हो ।
बाढी तथा पहिरोमा सबैभन्दा धेरै ३ सय ६२ जनाको शव चितवनमा फेला परेको छ । नवलपरासी पूर्वमा २ सय २२, नवलपरासी पश्चिममा २ सय २०, नुवाकोटमा १ सय ९५, रसुवामा १ सय ६३, गोरखामा ७४, धादिङमा ६७ र तनहुँमा ३८ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ । फेला परेका शवमध्ये ९८ जनाको मात्र सनाखत भई आफन्तले बुझेका छन् ।
सम्पर्कविहीन हुनेमा नुवाकोटका २ हजार ३ सय ४० र रसुवाका १ हजार ९ सय ६७ जना छन् । त्यस्तै ५ सय ८९ विदेशी नागरिक तथा १ सय सुरक्षाकर्मी र कर्मचारी सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । सम्पर्कविहीनको सूचीमा पहिचान हुन बाँकी शव तथा उद्धार गरिएका व्यक्तिसमेत पर्न सक्ने भएकाले तथ्यांक रुजु गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ ।
विपद्मा फसेका १३ हजार १ सय ४ जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेनाले ४ हजार १ सय ६२, नेपाल प्रहरीले ४ हजार ६८ र सशस्त्र प्रहरीले ४ हजार ८ सय ७४ जनाको उद्धार गरेका छन् । हवाई उद्धारमार्फत ३०४ विदेशी नागरिकलाई समेत सुरक्षित स्थानमा लगिएको छ ।
बाढी तथा पहिरोमा परी घाइते भएका ६ हजार ७५ जनाको उपचार गरिएको छ । विस्थापितका लागि रसुवा, नुवाकोट, धादिङ र काठमाडौंमा ३९ होल्डिङ सेन्टर सञ्चालनमा छन् । ती केन्द्रमा हाल ३ हजार ६ सय ५२ जना आश्रित छन् ।
विपद् व्यवस्थापन तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका २१ हजार ४ सय ६५ सुरक्षाकर्मी परिचालित छन् । राहत सामग्री ढुवानीका लागि काठमाडौंबाट ८३ ट्रक र ३८ बोलेरो प्रभावित क्षेत्रमा पठाइएको छ । नेपाली सेना र सशस्त्र प्रहरीका हेलिकोप्टरले १ सय ८२ पटक उडान गरी राहत सामग्री पुर्याएका छन् ।
सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । प्रभावित १५ स्थानीय तहका लागि १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको प्राधिकरणले जनाएको छ ।
प्रभावित क्षेत्रमा इन्धन अभाव हुन नदिन ४७ हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र हवाई इन्धन मौज्दात राखिएको छ ।