काठमाडौं। बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा राहत तथा पुनर्स्थापनाका काम तीव्र पारिएको छ । नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सञ्जाल (एआईएन) मा आबद्ध ३० संस्था प्रभावित क्षेत्रमा मानवीय सहायता र राहत वितरणमा सक्रिय भएका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयपछि एआईएनअन्तर्गतका संस्था प्रभावित क्षेत्रमा खटिएका हुन् । बाढी आएको दोस्रो दिनदेखि नै खाद्यान्न, आश्रयका सामग्री, कम्बल, हाइजिन किट तथा महिलाका लागि आवश्यक डिग्निटी किट वितरण भइरहेको एआईएनका अध्यक्ष सञ्जय कार्कीले बताए ।
‘राहत दोहोरिने वा छुट्ने नहोस् भनेर जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र आवश्यकताका आधारमा भूगोल विभाजन गरी काम भइरहेको छ,’ कार्कीले भने । उनका अनुसार एआईएनमा आबद्ध संस्थाहरूले ती जिल्लामा विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीका काम गर्दै आएकाले विपद्पछि तत्काल परिचालन हुन सहज भएको हो ।
प्रारम्भिक आपत्कालीन राहतपछि प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शलगायत पुनर्स्थापनाका काम अघि बढाउने तयारीसमेत भइरहेको एआईएनको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागकी संयोजक सम्झना विष्टले बताइन् । खाद्य सुरक्षा, स्वास्थ्य तथा महिला, किशोरी, बालबालिका, अपांगता भएका व्यक्ति र यौनिक तथा लैंगिक अल्पसंख्यकका आवश्यकतालाई लक्षित गरी राहत प्याकेज उपलब्ध गराइरहेको उनले जानकारी दिइन् ।
सरकारको प्राथमिकताअनुसार दीर्घकालीन आर्थिक पुनर्निर्माणका कार्यक्रम अघि बढाउन अध्ययन र समन्वय भइरहेको विष्टले बताइन् । समाज कल्याण परिषद्, सम्बन्धित मन्त्रालय, प्राधिकरण तथा स्थानीय सरकारसँगको छलफलपछि पुनर्स्थापना र पुनर्निर्माणका काम अघि बढाउने एआईएनको तयारी छ ।
सरकारले अल्पकालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापनामा सहयोग गर्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई आह्वान गर्दै आएको छ । विपद् व्यवस्थापनका लागि गठित विभिन्न उपसमितिमा एआईएनलाई सदस्यका रूपमा राखिएको छ । नेपालमा तीन दशकदेखि विभिन्न क्षेत्रमा काम गर्दै आएको एआईएनमा हाल १०१ अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आबद्ध छन् ।