काठमाडौं । सगरमाथा स्म्यासर्सले नेपाल भलिबल लिग (एनभीएल)मा विजयी सुरुआत गरेको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको उद्घाटन खेलमा सगरमाथाले मधेस वारियर्सलाई ३–१ सेटले पराजित गरेको हो ।
सगरमाथाले पहिलो र दोस्रो सेट समान २५–२१ ले जित्दै खेलमा बलियो पकड बनाएको थियो । प्रतिस्पर्धात्मक तेस्रो सेट भने मधेसले २५–२३ ले आफ्नो पक्षमा पार्यो । तर, चौथो सेटमा सगरमाथाले २५–१५ को सहज जित निकाल्दै खेल ३–१ ले आफ्नो पक्षमा पारेको हो ।
यो जितसँगै सगरमाथाले तीन अंक जोडेको छ भने मधेसले पराजयबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
अब शनिबार सगरमाथा स्म्यासर्सले खप्तड फाल्कोन्ससँग खेल्नेछ भने मधेस वारियर्सले काठमाडौं रेड्सको सामना गर्नेछ ।