बैतडी । दार्चुलाको अपिहिमाल गाउँपालिका–२ स्थित भट्टार क्षेत्रमा पहिरो खसेपछि चौलानी नदीको बहाव प्रभावित भएको छ।
प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार पहिरोका कारण नदीको बहावमा असर परेको छ। नदी थुनिन सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क गराउन लागिएको उनले बताए।
‘पहिरो गएको क्षेत्रमा क्षतिको आधिकारिक विवरण आएको छैन। प्रहरी टोली त्यसतर्फ गइसकेको छ,’ प्रजिअ पौडेलले भने।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सूचना जारी गर्दै माथिबाट आएको पहिरोले चौलानी नदीको केही भाग पुरिएको र पहिरो खस्ने क्रम अझै जारी रहेको जनाएको छ। यसका कारण नदी थुनिन सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ।
नदी थुनिएर एक्कासि फुट्न सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रशासनले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन तथा सम्भावित जोखिमबाट जोगिन आग्रह गरेको छ।