काठमाडौं। अविरल वर्षा, बाढी र पहिरोबाट भएको जनधनको क्षतिबारे छलफल गर्न संघीय संसद्को बैठक बुधवारदेखि सुचारु हुने भएको छ। भोलिको बैठकमा विपद् व्यवस्थापन, राहत तथा उद्धारलाई प्रभावकारी बनाउन विशेष प्रस्ताव पारित गरिने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले बताइन्।
मंगलवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले यसअघि भदौ २२ गतेका लागि तय भएको बैठक राजनीतिक दलहरूको आग्रह र समितिको निर्णयअनुसार बुधवारदेखि नै सञ्चालन गर्न लागिएको जानकारी दिइन्।
प्राकृतिक विपद्को समयमा संसद् सञ्चालनले राहत तथा उद्धारमा बाधा पुग्ने तर्क उपयुक्त नभएको भन्दै उनले संसद्ले पीडितका समस्या उठाउने र सरकारलाई नीतिगत रूपमा जवाफदेही बनाउने बताइन्।
‘संसद् एउटा यस्तो आधिकारिक थलो हो, जहाँबाट जनताले सत्य–तथ्य सूचना प्राप्त गर्दछन् र भ्रम निवारण हुन्छ,’ थापाले भनिन्।
उनका अनुसार उद्धारका लागि प्राविधिक टोलीहरू कार्यक्षेत्रमा परिचालित भइसकेका छन् र अब राहत व्यवस्थापन तथा प्रभावितको पुनःस्थापनामा सरकारको ध्यान केन्द्रित हुनुपर्छ।
भोटेकोशी बाढी र कृष्णभीरको पहिरोका कारण उपत्यका जोड्ने मुख्य नाका अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ र ग्यासको आपूर्तिमा समस्या आउन सक्ने भन्दै थापाले सरकारलाई वैकल्पिक आपूर्ति व्यवस्था तत्काल मिलाउन आग्रह गरिन्।
सरकार उद्धार र बेपत्ताको खोजीमा केन्द्रित रहेकाले कांग्रेसले साथ दिने बताउँदै उनले विपद्को मौका छोपेर हुने कालोबजारी र मूल्यवृद्धिप्रति भने सचेत रहन व्यवसायीलाई आग्रह गरिन्।
‘सरकार अहिले उद्धार र बेपत्ताहरूको खोजीमा केन्द्रित छ, हामी सरकारसँगै छौँ,’ उनले भनिन्।
अवरुद्ध राजमार्ग खोल्न तथा आपूर्ति व्यवस्था सहज बनाउन सरकारले तत्काल ठोस विकल्प अघि बढाउने विश्वाससमेत उनले व्यक्त गरिन्।