काठमाडौं। रसुवाको भोटेकोशीमा आएको बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा पावरहाउसमा फसेका नागरिकको उद्धारमा सरकारले पर्याप्त प्राथमिकता नदिएको आफन्तले गुनासो गरेका छन्। बाढी आएको ६ दिन बितिसक्दा पनि सुरुङ तथा पावरहाउसमा रहेका आफन्तको उद्धार हुन नसकेको भन्दै उनीहरूले राज्य संयन्त्रप्रति असन्तुष्टि जनाएका हुन्।
नेपाल इन्जिनियर्स एसोसिएसनको ललितपुरस्थित कार्यालयमा आयोजित कार्यक्रममा इन्जिनियर तथा प्राविधिकका आफन्तले खोज तथा उद्धारमा सरकारले केही काम गरे पनि सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा अपेक्षित सक्रियता नदेखाएको बताएका छन्।
बाढीमा परेर सम्पर्कविहीन इन्जिनियर निरजबाबु रेग्मीका काका यमलाल रेग्मीले ६ दिनदेखि विभिन्न सरकारी निकायमा उद्धारका लागि हारगुहार गर्दा पनि अपेक्षित सहयोग नपाएको बताए। जंगललगायत स्थानमा रहेका नागरिकको उद्धार भए पनि सुरुङ र पावरहाउसमा फसेकाको उद्धारलाई प्राथमिकतामा नराखिएको उनको गुनासो छ।
‘मेरो भतिज सम्पर्कविहीन भएको छ। उसको उद्धारको लागि मन्त्रालय र राज्यका निकायहरूसँग समेत हारगुहार गरिरहेका छौँ,’ रेग्मीले भने। सुरुङभित्र उद्धारका लागि बेल्चा मात्र लिएर जानु पर्याप्त नहुने भन्दै उनले आवश्यक परे विदेशको सहयोग लिएर भए पनि उद्धार प्रणाली प्रभावकारी बनाउन माग गरे।
त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा आफ्ना श्रीमान्सहित नेपाल विद्युत् प्राधिकरणका ४० कर्मचारी उद्धारको पर्खाइमा रहेको नारायणी जोशीले बताइन्। पावरहाउस अन्य आयोजनाका पावरहाउसको तुलनामा सुरक्षित रहेको जानकारी पाएपछि उनीहरू जीवितै रहेको आशामा परिवारजन उद्धारको प्रतीक्षामा रहेको उनले बताइन्।
‘उद्धारमा नै सरकारको सक्रियता छैन। यति क्रिटिकल कुरालाई गर्भमेन्टले यति हलुका रूपमा कसरी लियो,’ जोशीले भनिन्। बाढी आएको दोस्रो दिनमै उद्धार हुनुपर्ने भए पनि ६ दिन बितिसक्दा समेत आफन्त सम्पर्कमा नआएको भन्दै उनले सरकारको प्राथमिकतामाथि प्रश्न उठाइन्।
सम्पर्कविहीन नागरिकका आफन्तले सुरुङ तथा पावरहाउसमा फसेकाको अवस्था गम्भीर रहेकाले तत्काल उद्धारका लागि आवश्यक जनशक्ति, उपकरण र प्रविधि परिचालन गर्न सरकारसँग माग गरेका छन्।