काठमाडौं। नेकपा (एमाले)ले भोटेकोशी बाढी, पहिरो र डुबानबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका तर्फबाट उक्त रकम जुटाउने घोषणा गरेका हुन्।
कार्यक्रममा एमाले वाग्मती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीले १०–१० लाख रुपैयाँ गरी २० लाख रुपैयाँको चेक ओलीलाई हस्तान्तरण गरेका थिए। उक्त सहयोग ग्रहण गर्दै ओलीले विपद् व्यवस्थापनका लागि पार्टीले केन्द्रीय तहबाटै कोष परिचालन गर्ने बताए।
राहत वितरणमा सरकारी प्रक्रियाका कारण ढिलाइ हुन नहुनेमा जोड दिँदै उनले रकम जम्मा गरेर मात्र नपुग्ने र वास्तविक पीडितसम्म तत्काल राहत पुग्ने व्यवस्था गर्नुपर्ने बताए।
‘हाम्रो प्राथमिकता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई मात्र बलियो बनाउने नभई पीडितका हातमा छिटोभन्दा छिटो राहत पुर्याउनु हो,’ ओलीले भने।
वास्तविक पीडितसम्म छिटो पुग्ने माध्यम पहिचान गरी पार्टीले सोहीअनुसार राहत तथा पुनःस्थापनाका कार्यक्रम अघि बढाउने उनले बताए। विपद्को समयमा सबै पक्षलाई जिम्मेवार भएर राहत तथा उद्धारमा जुट्न ओलीले आग्रह गरे।