काठमाडौँ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २३औँ पल्सर स्पोर्ट्स अवार्डका चार विधामा पाँच–पाँच जनाको मनोनयन सार्वजनिक गरेको छ। मञ्चको खेलाडी छनोट समितिले आइतबार वर्ष उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन घोषणा गरेको हो।
वर्ष उत्कृष्ट पुरुष खेलाडीमा बक्सिङका चन्द्र थापा, एथलेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र गल्फका सद्भाव आचार्य छन्। महिला खेलाडीतर्फ करातेका एरिका गुरुङ, सबिना श्रेष्ठ र सानुमाया थिङ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ तथा फुटबलकी सावित्रा भण्डारी मनोनयनमा परेका छन्।
वर्ष युवा खेलाडीमा बक्सिङका अर्पिल राना, करातेका रेहान जाबेद र मनिषा कुमारी बोहोरा, चेसका पुरुषोत्तम सिलवाल तथा क्रिकेटका रौनक श्रीवास्तव छन्। वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ बक्सिङका दीपक महर्जन, करातेका कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ, क्रिकेटका स्टुआर्ट ल तथा नेत्रहीन महिला क्रिकेटका पुरन सिंह खत्री मनोनयनमा छन्।
मञ्चका सचिव तथा खेलाडी छनोट समितिका संयोजक अनिल मल्ल ठकुरीका अनुसार २०८२ सालमा अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शन र प्राप्त नतिजालाई मनोनयनको मुख्य आधार बनाइएको हो। छनोट समितिका सदस्यमा निरञ्जन राजवंशी, हिमेशरत्न बज्रचार्य, प्रजित शाक्य र विराटजंग रायमाझी छन्।
भदौ १८ गते प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको ब्लु पभेलियनमा हुने अवार्डमा वर्ष उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी, पिपल्स च्वाइस र प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्।
पिपल्स च्वाइस विधामा फुटबलकी पूजा राना, भलिबलकी मीना सुनार, करातेकी सानुमाया थिङ, मिक्स्ड मार्सल आर्ट्सका रवीन्द्र ढाँट र क्रिकेटका शेर मल्ल मनोनयनमा परेका छन्। लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डका विजेता तथा सम्मानित व्यक्तिको घोषणा समारोहकै दिन गरिने मञ्चले जनाएको छ। ती विधाका विजेतालाई जनही एक लाख रुपैयाँ प्रदान गरिनेछ।
यसपटकको अवार्ड बाढीपहिरो तथा प्राकृतिक विपद्बाट प्रभावितप्रति समर्पित गरिएको छ। छनोट समितिका सदस्य तथा एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले देश विपद्मा रहेका बेला अवार्डलाई ठूलो उत्सवका रूपमा नभई पीडितप्रति ऐक्यबद्धता जनाउने अवसरका रूपमा आयोजना गर्न लागिएको बताए।
‘देश पीडामा रहेको बेला अवार्ड उत्सव मनाउने होइन, खेलकुद क्षेत्र र खेलाडीका तर्फबाट यो विषम परिस्थितिमा साथ दिनु नै अवार्डको वास्तविक सन्देश हो,’ राजवंशीले भने।
नेपाल खेलकुद पत्रकार मञ्चले २०६० सालदेखि पल्सर स्पोर्ट्स अवार्ड आयोजना गर्दै आएको छ। अवार्डको मुख्य प्रायोजक गोल्छा ग्रुप र सहप्रायोजक नासा सेक्युरिटिज छन्। सहप्रायोजकमा सूर्य नेपाल प्रालि, आईएमई बाइ खल्ती, रोयल सिँगी होटल, केल्मी, इमेजिङ, प्लाजा होटल ग्रुप र इम्बार्क कलेज छन्। सहयोगी संस्थामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र बागमती प्रदेश खेलकुद विकास परिषद् छन्।