काठमाडौं। पछिल्लो प्राकृतिक विपत्तिपछिको खोज, उद्धार, राहत तथा दीर्घकालीन पुनर्निर्माणमा सरकारलाई सहयोग गर्न राजनीतिक दलहरूले सर्वदलीय संसदीय संयन्त्र बनाउने निर्णय गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी दलहरूले विपद् व्यवस्थापन, खोज तथा उद्धारमा सरकारलाई पूर्ण सहयोग गर्ने र पुनर्निर्माणका कामको निरन्तर अनुगमन तथा सहजीकरणका लागि संसद्मार्फत विशेष समिति वा संयन्त्र गठन गर्ने प्रस्ताव गरेका हुन्।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्तिका बेला सबै दल एक ठाउँमा उभिने परम्परालाई निरन्तरता दिँदै संकट समाधानमा जुट्ने बताए। उनका अनुसार बैठकमा सरकारले गरिरहेको खोज, उद्धार तथा राहतका प्रारम्भिक कामबारे जानकारी गराइएको थियो भने राजनीतिक दलहरूले प्राप्त गरेका सूचनासमेत सरकारलाई उपलब्ध गराएका थिए।
‘अहिलेको मुख्य प्राथमिकता खोज, उद्धार र तत्काल राहत नै हो,’ थापाले भने, ‘पुनर्निर्माणको काम वर्षौँसम्म चल्ने भएकाले संसदीय संयन्त्र आवश्यक छ।’
उनका अनुसार प्रस्तावित संयन्त्रमा संसद्मा नभएका दललाई समेत समेटिनेछ। विपद्पछिको पुनर्निर्माण र राहत वितरणलाई प्रभावकारी बनाउन निरन्तर अनुगमन गर्ने, सरकारलाई सुझाव दिने तथा दलहरूलाई संयुक्त रूपमा परिचालन गर्ने उद्देश्यले संयन्त्र बनाउने प्रस्ताव गरिएको हो।
थापाले विगतका विपत्तिमा केही समयपछि प्राथमिकता फेरिँदा पीडित अलपत्र पर्ने अवस्था देखिएको भन्दै यसपटक त्यस्तो अवस्था दोहोरिन नदिन सबै दल एकजुट हुनुपर्ने बताए। जाजरकोट भूकम्पपछिको अनुभवबाट सिक्दै राहत र पुनर्निर्माणका कामलाई दीर्घकालीन रूपमा निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।