काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा सम्भावित स्वास्थ्य जोखिम नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालनदेखि आवश्यक औषधि तथा उपचार सामग्रीको व्यवस्थापनसम्मको तयारी गरेको जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले रसुवा, नुवाकोटलगायत बाढी प्रभावित जिल्लामा घाइतेको उपचारका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको बताए। सम्पर्कविहीन स्वास्थ्यकर्मीको खोजी तथा प्रभावित स्वास्थ्य संस्थाको विकल्पमा अन्य स्थानबाट सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले बताए।
बाढीमा घाइते तथा चोटपटक लागेकाको खोजी, उद्धार र उपचारलाई प्राथमिकतामा राखेर काम भइरहेको अधिकारीले बताए। स्थानीय स्वास्थ्य संस्थामै उपचार सम्भव हुने बिरामीलाई त्यहीँ उपचार गर्ने र थप उपचार आवश्यक पर्ने घाइतेलाई काठमाडौं ल्याउने गरी समन्वय भइरहेको उनले जानकारी दिए। काठमाडौंका विभिन्न अस्पतालमा बाढी प्रभावित घाइतेको उपचार भइरहेको छ।
उद्धारपछिका दिनमा पानी तथा खाद्यजन्य रोग, किटजन्य रोग र मानसिक स्वास्थ्य समस्या बढ्न सक्ने भन्दै मन्त्रालयले स्थानीय द्रुत प्रतिकार्य टोलीलाई सक्रिय बनाएको छ। सम्भावित स्वास्थ्य समस्याका लागि आवश्यक औषधि तथा उपचार सामग्री स्थानीयस्तरमै व्यवस्थापन भइरहेको अधिकारीले बताए।
‘अहिले तत्काल घाइते, चोटपटक लागेका व्यक्तिहरूको खोजी गरेर ल्याइएका व्यक्तिहरूको उपचारका प्रबन्धमा विशेष रूपमा केन्द्रित भएर काम गरेका छौँ,’ उनले भने।
बाढीका कारण घर, पशुचौपाया, सम्पत्ति तथा आफन्त गुमाएका व्यक्तिमा मानसिक तनाव बढ्न सक्ने भन्दै मन्त्रालयले मानसिक स्वास्थ्य परामर्शका लागि ११६६ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। बालबालिकासम्बन्धी सहयोगका लागि १०९८ तथा स्वास्थ्यसम्बन्धी समस्यामा ११५१ र ११५५ नम्बरको हटलाइन प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले विपद्को समयमा नआत्तिन र स्थानीयस्तरमा एक–अर्कालाई सहयोग गर्न आग्रह गरेको छ। छिमेकी, गाउँ तथा समुदायस्तरबाट हुने तत्कालीन सहयोग विपद्का बेला महत्वपूर्ण उद्धार बन्नसक्ने अधिकारीले बताए।