काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिको समयमा सबै राजनीतिक दल सरकारसँगै रहेको बताएका छन्। विपत्तिको घडीमा राज्यका सबै संयन्त्रसँगै राजनीतिक दल, निजी क्षेत्र तथा सामाजिक संघ–संस्थालाई परिचालन गरेर खोज, उद्धार र राहतलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए।
बिहीवार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले विपत्तिका बेला सबै राजनीतिक दल एक ठाउँमा उभिएर काम गर्ने परम्परा रहेको बताए। उनले बाढी प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहतका लागि सबै पक्ष जुट्नुपर्ने बताए।
बैठकमा गृहमन्त्रीले विपद् प्रभावित क्षेत्रमा राजनीतिक दलका कार्यकर्ता परिचालन गर्न आग्रह गरेको जानकारी दिँदै थापाले कांग्रेस त्यसका लागि तयार रहेको बताए। सडक सफा गर्ने तथा खोज र उद्धारमा सहयोग गर्न उनले सबै दलका कार्यकर्तालाई आग्रह गरे।
‘हामी सबै यो बेलामा राज्यका हौँ,’ थापाले भने, ‘सरकारसँग भएको स्रोत र साधनबाट मात्रै यत्रो ठूलो प्राकृतिक विपत्तिपछिको अवस्थामा काम गर्ने कुरा सम्भव हुँदैन।’
सरकारको आग्रहअनुसार कांग्रेसले आफ्ना विपद् व्यवस्थापन संरचनामार्फत कार्यकर्ता परिचालन गर्ने उनले बताए। निजी क्षेत्र, सामाजिक संघ–संस्था र राजनीतिक दललगायत सबैलाई राज्यको आवश्यकताअनुसार परिचालन गर्नुपर्ने उनको भनाइ छ।
थापाले विपद्का बेला सहयोग गर्न चाहने सबैलाई राज्यले तोकेको एकद्वार प्रणालीमार्फत सहयोग गर्न आग्रह गरे। कांग्रेसले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारी कोषमा आवश्यक रकम सहयोग गर्ने जानकारीसमेत उनले दिए।