काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाईमार्ग हुँदै ल्याइने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा जम्मा गरिनेछ। त्यहाँ संकलित सामग्री सरकारले आवश्यकताका आधारमा प्रभावित क्षेत्रमा पठाउनेछ।
त्यसैगरी, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनीस्थित नेपाली सेनाको ब्यारेकमा पनि राहत सामग्री संकलनको व्यवस्था गरिएको छ। ती स्थानमा संकलित सामग्री पनि आवश्यकताअनुसार बाढी प्रभावित क्षेत्रमा वितरण गरिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले राहत सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई सरकारले तोकेका संकलन केन्द्रमै सामग्री पुर्याउन आग्रह गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा सामग्री बुझाउन डब्लुएफपीकी प्रतिनिधि श्रद्धा भट्टलाई ९९८४१८७९२२२० मा सम्पर्क गर्न सकिनेछ।
त्यस्तै, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकमा राहत सामग्री बुझाउन आविष्कारलाई ९९८५१२३४३२४० र धादिङको बैरेनीस्थित ब्यारेकका लागि दिलीप घलेलाई ९९८५११५४२२६० मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ।
यसका अतिरिक्त, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पनि राहत सहयोग उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।
आर्थिक सहयोग गर्न चाहनेले भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सक्नेछन्। प्राधिकरणका अनुसार हिमालयन बैंकको डलर खाता तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, राष्ट्रिय वाणिज्य बैंक, एभरेस्ट बैंक, नेपाल बैंक लिमिटेड, ग्लोबल आइएमई बैंक, नबिल बैंक र कृषि विकास बैंकमार्फत कोषमा रकम जम्मा गर्न सकिनेछ। राष्ट्रिय वाणिज्य बैंकको क्यूआर कोडमार्फत पनि आर्थिक सहयोग गर्न सकिने व्यवस्था गरिएको छ।