काठमाडौँ। रसुवा बाढीमा परी उद्धारमा खटिएका ८५ सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरीका १३ जना सम्पर्कविहीन छन्।
केन्द्रका प्रमुख फणिन्द्रप्रसाद पौडेलले बिहीवार बिहान विपद् प्रभावित क्षेत्रमा राहत सामग्री र जनशक्ति परिचालनलाई तीव्रता दिइएको बताए। उनका अनुसार बुधवार राति २ बजे नै आठवटा ट्रकमा राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाइएको थियो। अहिले हेलिकोप्टरमार्फत ‘डिग्निटरी किट’, स्वास्थ्य उपकरण र सञ्चार सामग्री पठाउने काम भइरहेको छ।
रसुवामा सञ्चार सम्पर्क विच्छेद भएकाले सञ्चार उपकरणसमेत हेलिकोप्टरबाट पठाइँदैछ। एमआई हेलिकोप्टर धुन्चेतर्फ जाने तयारीमा रहेको केन्द्रले जनाएको छ।
विपद् उद्धारमा नेपाली सेनाका २ हजार ३ सय ५५ सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित छन्। तर, उद्धार र राहतमा खटिएका सुरक्षाकर्मी नै सम्पर्कविहीन भएपछि खोज तथा उद्धारमा थप चुनौती देखिएको पौडेलले बताए। अन्य कर्मचारीको अवस्थाबारे पनि विवरण संकलन भइरहेको छ।
बुधवार राति ३ बजेसम्म बसेको बैठकले थप जनशक्ति र आवश्यक सामग्री परिचालन गर्ने निर्णय गरेको थियो। अहिले त्रिशूली मार्ग हुँदै राहत सामग्री र जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाउने क्रम जारी रहेको गृह मन्त्रालयले जनाएको छ।