काठमाडौँ । चीनतर्फबाट बुधबार भोटेकोशी नदीमा आएको बाढी र पहिरोका कारण देशको यातायात व्यवस्था प्रभावित भएको छ। विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध हुँदा देशभर करिब ८ सयदेखि १ हजारसम्म सवारीसाधन अलपत्र वा डुबानमा परेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।
महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार जनैपूर्णिमाको अवसरमा गोसाईंकुण्ड दर्शनका लागि काठमाडौँबाट रिजर्भमा गएका दर्जनौँ बससमेत सम्पर्कविहीन भएका छन्।
उनका अनुसार अरनिको यातायात कम्पनीमार्फत रसुवागढी सडकखण्ड हुँदै गोसाईंकुण्ड गएका १८ देखि २० वटा यात्रुवाहक बस अझै सम्पर्कमा आएका छैनन्। तीमध्ये तीन जना कर्मचारी मात्र सम्पर्कमा आएको अपुष्ट सूचना प्राप्त भएको उनले बताए। बाँकी यात्रु र बसको अवस्थाबारे यकिन जानकारी हुन सकेको छैन।
फसेका यात्रुको अवस्था बुझ्न तथा उद्धारका लागि बुधबार २५ देखि ३० जनाको टोली घटनास्थलतर्फ पठाइए पनि सडक अवरुद्ध भएका कारण टोली बीच बाटोबाटै फर्किन बाध्य भएको सिटौलाले जानकारी दिए।
गोसाईंकुण्डतर्फ गएका बसबाहेक अन्य गन्तव्यमा हिँडेका सवारीसाधनसमेत सम्पर्कविहीन भएका छन्। पोखराबाट गएको एउटा गाडीका पाँच जना यात्रु सम्पर्कमा आए पनि अन्य यात्रुको अवस्था अज्ञात रहेको महासंघले जनाएको छ। त्यस्तै, गोरखाबाट गएको अर्को गाडीका पाँच जना यात्रु सम्पर्कमा आएको जानकारी गृह मन्त्रालयलाई गराइए पनि पछि उनीहरूसँग पनि सम्पर्क टुटेको सिटौलाले बताए।
महासंघको प्रारम्भिक विवरणअनुसार बाढीका कारण करिब ३०० यात्रुवाहक बससहित मालवाहक तथा अन्य गरी ८ सयदेखि १ हजारसम्म सवारीसाधन प्रभावित भएका छन्। नागढुंगा–मुग्लिनलगायत प्रमुख सडकखण्ड अवरुद्ध हुँदा सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्।
उद्धारका लागि महासंघको आपत्कालीन बैठक
यातायात क्षेत्रमा ठूलो क्षति पुगेको र सयौँ यात्रु अलपत्र परेको भन्दै महासंघले उद्धार तथा राहत कार्यमा समन्वय गर्न बिहीबार दिउँसो १२ः३० बजे बालकुमारीस्थित केन्द्रीय कार्यालयमा आपत्कालीन बैठक बोलाएको छ।
सिटौलाका अनुसार काठमाडौँ आउन नसकेका तथा सामाखुसी क्षेत्रबाट उद्धार गरिएका यात्रुहरू पैदलै गन्तव्यतर्फ अघि बढिरहेका छन्। पासाङल्हामु राजमार्ग र टोखा–छहरे सडकखण्डमा सवारीसाधन पुग्न सक्ने स्थानसम्म गएर यात्रुको उद्धार गर्न व्यवसायीहरू तयार रहेको उनले बताए।
तर, गृह प्रशासनको निर्देशन र विपद् व्यवस्थापन निकायसँगको समन्वयबिना आफूखुसी सवारीसाधन पठाउन नसकिने महासंघको भनाइ छ। आपत्कालीन बैठकबाट प्रभावित सवारीसाधन र यात्रुको यकिन तथ्यांक संकलन गर्नुका साथै देशभरका यातायात व्यवसायी तथा मजदुरलाई उद्धार कार्यमा परिचालन गर्ने विषयमा निर्णय गरिने सिटौलाले बताए।
जोखिमपूर्ण क्षेत्रमा आफूखुसी गाडी नचलाउन आग्रह
बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले महासंघले यातायात व्यवसायी र चालकहरूलाई जथाभावी सवारीसाधन नचलाउन आग्रह गरेको छ।
सिटौलाले केही सवारीसाधन जोखिम मोलेर आफूखुसी गन्तव्यतर्फ जान खोजिरहेको भन्दै यसबाट थप दुर्घटना हुनसक्ने चेतावनी दिए। उनले विपद् प्रभावित वा जोखिमयुक्त क्षेत्रमा स्थानीय प्रशासन तथा यातायात महासंघसँग समन्वय नगरी सवारीसाधन सञ्चालन नगर्न व्यवसायी र चालकहरूलाई आग्रह गरेका छन्।