काठमाडौँ। अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज हैदराबाद किङ्समेन एकेडेमीको सामना गर्दैछ। खेल डार्विनस्थित गार्डेन ओभलमा बिहीबार बिहान ९ः१५ बजे सुरु हुनेछ।
प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलको सम्भावना बलियो बनाउने लक्ष्यमा नेपाल ‘ए’ रहेको छ। प्रतियोगिताको सुरुआती दुई खेलमा पराजित भएको नेपालले त्यसपछि लगातार दुई खेलमा जित हात पारेको छ।
नेपालले तेस्रो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले तथा चौथो खेलमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) लाई चार विकेटले पराजित गरेको थियो।
यसअघि नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले र दोस्रो खेलमा बंगलादेश हाइपरफर्मेन्स–११ सँग नौ विकेटले पराजित भएको थियो।
सेमिफाइनलमा स्थान बनाउन आजको खेल नेपालका लागि महत्वपूर्ण छ। चार खेलबाट चार अंक जोडेको नेपाल अंक तालिकाको सातौँ स्थानमा छ। हैदराबाद किङ्समेन एकेडेमीको पनि समान चार अंक छ। उसले चार खेलमा दुई जित र दुई हारको नतिजा निकालेको छ।