काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्निर्माणका लागि सरकारलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
बुधवार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकले बाढीपछिको विपद् व्यवस्थापनमा सरकारलाई सहयोग गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए। बैठक बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतमा सरकारलाई कसरी सहयोग गर्ने भन्ने विषयमा केन्द्रित रहेको उनले बताए।
‘विपद्को व्यवस्थापन, विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणका लागि ५० लाख रुपैयाँ सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ,’ खरेलले भने।
रास्वपाले प्रभावित जिल्लामा पार्टीको ‘र्यापिड एक्सन टिम’ परिचालन गर्ने निर्णय पनि गरेको छ। टोलीले पीडितको खोज तथा उद्धार, राहत र पुनर्निर्माणमा सहयोग गर्ने खरेलले बताए।
बैठकले पार्टीका तल्लो तहका नेता तथा कार्यकर्तालाई स्थानीय प्रशासनसँग समन्वय र सहकार्य गरी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा सक्रिय हुन निर्देशन दिएको छ। पार्टी सभापति रवि लामिछानेले बाढी प्रभावित क्षेत्रमा खोज, राहत र पुनःस्थापनामा जुट्न सबै पक्षलाई आग्रह गरेको खरेलले जानकारी दिए।
बाढीबाट भएको क्षतिको विवरण संकलन भइरहेको रास्वपाले जनाएको छ।