काठमाडौं — रसुवा जिल्लामा आएको बाढीमा परी घाइते भएका ३० जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न हेलिकप्टरमार्फत उद्धार गरी शिक्षण अस्पताल पुर्याइएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २० गणबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङको टोलीले विमानस्थलमा ल्याइएका घाइतेलाई एम्बुलेन्समार्फत शिक्षण अस्पताल पठाएको हो।
बुधबार अपराह्न ४ः३० बजेसम्मको विवरणअनुसार सिम्रिक, अन्नपूर्ण, कैलाश, प्रभु र फिसटेल हेलिकप्टरबाट विमानस्थल ल्याइएका २० जना घाइतेलाई एम्बुलेन्समार्फत शिक्षण अस्पताल पठाइएको छ। तीमध्ये केहीलाई सशस्त्र प्रहरी अस्पतालका एम्बुलेन्ससमेत प्रयोग गरिएको थियो।
त्यस्तै, कैलाश, अल्टिच्युट र एभरेस्ट हेलिकप्टरबाट विमानस्थल ल्याइएका थप १० जना घाइतेलाई भने हेलिकप्टरबाटै शिक्षण अस्पताल पुर्याइएको जनाइएको छ।
उद्धार गरिएका सबै ३० जना हाल शिक्षण अस्पतालमा उपचाररत रहेको सशस्त्र प्रहरी बलको विवरणमा उल्लेख छ।
रसुवामा आएको बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा घाइतेको उपचारका लागि सुरक्षा निकायले निरन्तर उद्धार तथा राहत कार्य गरिरहेको छ।