काठमाडौं । रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा स्वास्थ्य उपचारको व्यवस्था गर्न वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले निर्देशन दिएका छन्।
प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा मुख्यमन्त्री थापामगरले घाइते तथा विपद्मा परेका नागरिकको तत्काल उद्धार गरी राहत वितरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्। प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीसहित उद्धार टोली परिचालन गर्न तथा उद्धार र राहतमा ढिलाइ हुन नदिन आवश्यक जनशक्ति र स्रोतसाधन परिचालन गर्न उनले भनेका छन्।
विस्थापित तथा प्रभावित नागरिकका लागि खाना र अस्थायी आवासको व्यवस्था मिलाउन तथा स्वच्छ खानेपानीको तत्काल व्यवस्थापन गर्नसमेत मुख्यमन्त्रीले निर्देशन दिएका छन्।
बैठकमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, मन्त्रालयका सचिव तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि सहभागी थिए। बैठकले प्रभावित क्षेत्रमा तत्काल आवश्यक खाद्यान्न, खानेपानी, स्वास्थ्य उपचार, अस्थायी आवास तथा अन्य राहत सामग्रीको व्यवस्था प्राथमिकताका साथ अघि बढाउने विषयमा छलफल गरेको थियो।
रसुवामा बाढीबाट जनधनको क्षति भएपछि प्रदेश सरकारले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी संयन्त्रसँग समन्वय गरी उद्धार, राहत र पुनःस्थापनाका काम अघि बढाउने तयारी गरेको छ। सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय गर्दै प्रभावित नागरिकले राज्यको उपस्थिति प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न मुख्यमन्त्री थापामगरले आग्रह गरेका छन्।