काठमाडौं । रसुवामा बुधबार बिहान आएको बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री बालेन्द्र साहको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ। बैठकले प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यलाई तीव्रता दिने निर्णय गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा सम्बन्धित निकायका अधिकारीहरूले बाढीबाट भएको क्षति र प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
ब्रिफिङपछि प्रधानमन्त्री साहले प्रभावित नागरिकको प्रभावकारी उद्धार तथा खोज र राहत कार्यमा सक्रियतापूर्वक जुट्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्। उनले विपद्को यस घडीमा आ–आफ्नो जिम्मेवारीअनुसार परिचालित भएर प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउन सरोकारवाला निकायलाई आग्रह गरेका छन्।
सरकारले बाढीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्दै उद्धार र राहतसँगै पुनःस्थापनाका कामलाई तीव्रता दिने जनाएको छ।