काठमाडौं । तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो क्षति पुर्याएको प्रारम्भिक जानकारी आएको छ। तर बाढीका कारण दूरसञ्चार सेवा प्रभावित हुँदा क्षतिको यकिन विवरण संकलनमा समस्या भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बाढी बुधबार बिहान करिब ८ः४० बजे रसुवागढी नाकाबाट नेपाल प्रवेश गरेको थियो। बाढी रसुवा, नुवाकोट हुँदै धादिङको गल्छीसम्म पुगेको प्रारम्भिक जानकारी आएको छ। बाढीका कारण प्रहरी चौकी, भन्सार कार्यालय र हेल्प पोस्टमा क्षति पुगेको जानकारी आए पनि मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण प्राप्त भइसकेको छैन।
बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाका तीन हेलिकप्टर परिचालन गरिएको छ। स्वास्थ्यकर्मीसहितको हेलिकप्टरसमेत प्रभावित क्षेत्रमा पुगेको छ। केही व्यक्तिको उद्धार गर्नुपर्ने जानकारी आएपछि तत्काल हेलिकप्टर पठाइएको र तीनजनालाई उद्धार गरिएको महतले बताइन्।
‘क्षतिको विवरण आइसकेको छैन,’ महतले भनिन्।
बाढीका कारण नेपाल टेलिकम र एनसेलका टावरमा समेत क्षति पुगेको छ। टावरमा क्षति भएपछि प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कमा समस्या आएको र त्यसले क्षतिको विवरण संकलनमा समेत असर गरेको प्राधिकरणले जनाएको छ। दुवै दूरसञ्चार कम्पनीसँग समन्वय गरी सेवा पुनः सञ्चालन र टावर मर्मतको काम भइरहेको छ।
बाढी हिमनदी पग्लिएर आएको हुनसक्ने प्राधिकरणको प्रारम्भिक अनुमान छ। महतका अनुसार तिब्बततर्फ नदी थुनिएर केही समयपछि अवरोध खुलेपछि एक्कासि ठूलो बाढी आएको हुनसक्ने देखिएको छ। यद्यपि यसको आधिकारिक पुष्टि हुन बाँकी छ।
‘हामीले अहिले प्रारम्भिक रूपमा हेर्दा यो आइस मेल्ट नै हो,’ महतले भनिन्, ‘अझ आधिकारिक आउन बाँकी छ।’
बाढीको स्रोत नेपालबाहिर रहेको प्रारम्भिक अनुमानपछि नेपाल–चीनबीच सीमा–पार विपद् जोखिम न्यूनीकरण र पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको प्राधिकरणले जनाएको छ। तिब्बततर्फ घटना भएकाले नेपालमा बाढी प्रवेश गरेपछि मात्रै प्रारम्भिक सूचना प्राप्त भएको महतले बताइन्। नेपाल र चीनबीच विपद्सम्बन्धी पूर्वसूचना तथा समन्वयलाई थप प्रभावकारी बनाउन आवश्यक समझदारी गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ।
बाढीको अवस्था तथा उद्धार र राहत व्यवस्थापनबारे प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बसिरहेको छ। यसअघि गृहमन्त्रीको अध्यक्षतामा मनसुन कमान्ड पोस्टको बैठक सम्पन्न भएको थियो।
प्राधिकरणले स्थानीय प्रशासन, स्थानीय तह, सरकारी तथा गैरसरकारी निकायसहित विपद्सम्बन्धी सबै संयन्त्र परिचालन गरेको जनाएको छ। निजी क्षेत्रसँग भएको सम्झौताअनुसार हेलिकप्टर, वायुसेवा तथा ¥याफ्टिङ सेवासमेत तयारी अवस्थामा राखिएको छ। आवश्यकताअनुसार उद्धार तथा राहतमा परिचालन गर्न निजी क्षेत्रका ३४ हेलिकप्टरलाई अन्यत्र नपठाउन निर्देशन दिइएको महतले बताइन्।