काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न संकट समाधानका लागि सरकार र प्रतिपक्षले उद्धार तथा राहत कार्यलाई एकीकृत रूपमा अघि बढाउने सहमति गरेका छन्।
बुधबार बिहान ९ बजे भोटेकोशीमा बाढी आएपछि प्रधानमन्त्री बालेन्द्र साहले चासो व्यक्त गरेसँगै सत्तापक्ष र प्रतिपक्षबीच भएको छलफलमा विपद् व्यवस्थापनमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर काम गर्ने सहमति भएको हो।
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेका अनुसार बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धारका लागि आठवटा हेलिकप्टर परिचालन गरिएका छन्। उद्धार कार्यलाई तीव्रता दिन नुवाकोटको धुन्चे र त्रिशूलीस्थित हेलिप्याड पूर्ण रूपमा प्रयोगमा ल्याइएको छ।
घाइतेको उपचारका लागि त्रिशूलीस्थित सरकारी अस्पताललाई आवश्यक स्वास्थ्य उपकरण र जनशक्तिसहित तयारी अवस्थामा राखिएको छ।
‘अहिलेको मुख्य प्राथमिकता प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु र घाइतेको उपचार गर्नु हो,’ आङदेम्बेले बताए, ‘सरकारले स्रोतसाधन परिचालन र बजेट व्यवस्थापनमा कुनै हिचकिचाहट नगरी अगाडि बढ्नुपर्छ, जसमा प्रतिपक्षको पूर्ण साथ रहनेछ।’
बैठकले बाढीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्दै उपलब्ध सबै संयन्त्रलाई अधिकतम परिचालन गर्ने निर्णयसमेत गरेको छ। सरकारले सम्बन्धित मन्त्रालयलाई तत्काल क्रियाशील हुन निर्देशन दिइसकेको छ।