काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मन्त्रालयले सूचना जारी गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका भोटेकोशी तथा त्रिशूली नदी आसपासका बस्तीमा रहेका नागरिकलाई विशेष सावधानी अपनाउन र सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा जान आग्रह गरेको हो।
गृह मन्त्रालयले खोज तथा उद्धारको आवश्यकता परेमा वा कुनै किसिमको सहायता आवश्यक भएमा टोल फ्री नम्बर १२३४ मा तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ।
यसैबीच, गृहमन्त्री सुधन गुरुङले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडकखण्ड र मुग्लिङ–नारायणगढ सडकखण्डमा यात्रा नगर्न तथा आवतजावत पूर्ण रूपमा रोक्न आग्रह गरेका छन्।
उनले जोखिमयुक्त क्षेत्रमा सर्वसाधारणलाई नजान र सम्भावित दुर्घटना तथा क्षति न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेका छन्।