रुपन्देही । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालू आठौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीमा मंगलबार साँझ बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम भदौ ११ गते बिहीबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेका अनुसार बैठकले प्रदेश सरकारको स्थायी संगठन तथा व्यवस्थापन सर्वेक्षणको अवधि थप गर्ने निर्णयसमेत गरेको छ। प्रदेश सरकारको स्थायी संगठन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन आवश्यक अध्ययन तथा सर्वेक्षणका लागि अवधि थप गर्ने प्रस्ताव बैठकमा पेस भएको थियो।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विकास निर्माणका कामलाई गति दिन तथा नागरिकलाई प्रदान गरिने सेवा प्रवाहलाई चुस्त, प्रभावकारी र जनमुखी बनाउन मन्त्रीहरूलाई थप सक्रिय हुन निर्देशन दिएका थिए।
उनले मन्त्रालयको जिम्मेवारीअनुसार योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन मन्त्रीहरूलाई आग्रह गरेका छन्।
यस्तै, बैठकले सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ। यसअघि स्वास्थ्य मन्त्री रहँदा पनि घिमिरेले नै सरकारको प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए।