काठमाडौं। भियतनाममा हुने पिकलबल विश्वकपका लागि नेपालले पहिलोपटक राष्ट्रिय टोली घोषणा गरेको छ। पिकलबल एसोसिएसन नेपालले मंगलबार नक्सालमा पत्रकार सम्मेलन गरी १९–४९ वर्षको ओपन र ५० वर्षमाथिको सिनियर क्याटेगोरीका खेलाडी सार्वजनिक गरेको हो।
अगस्ट ३० देखि सेप्टेम्बर ६ सम्म दा नाङमा हुने विश्वकपको सिनियरतर्फ हर्षसागर तुलाधर, मणिकरत्न शाक्य, दिलभूषण पाठक, फत्तेबहादुर खड्का, शर्मिला केसी र प्रतिमा प्रधान छन्।
ओपनतर्फ ज्याक्सन सुवेदी, सन्देश श्रेष्ठ, उमिद शेर्पा, उगेन शेर्पा, दावा शेर्पा, राधेश्याम मचामसी, महेश शर्मा, सरुसा मगर, डा. दिक्षा राना, सञ्जील कन्साकार र किरण खनाल छनोट भएका छन्।
एसोसिएसनका अध्यक्ष सौरभ भण्डारीले पाँच वर्षको प्रयासपछि नेपाल पहिलोपटक विश्वकपमा सहभागी हुन लागेको बताए। नेपाली खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको क्षमता प्रस्तुत गर्दै पदक जित्ने विश्वास उनले व्यक्त गरे।
विश्वकपमा ८१ देशका १५६ टोलीबाट पाँच हजारभन्दा बढी खेलाडी सहभागी हुँदैछन्। प्रतियोगिताको कुल पुरस्कार राशि पाँच लाख अमेरिकी डलर रहेको आयोजकले जनाएको छ।
पिकलबल टेनिस, ब्याडमिन्टन र टेबल टेनिसको मिश्रित स्वरूपको र्याकेट खेल हो। प्वाल भएको हल्का प्लास्टिकको बल र प्याडल प्रयोग गरिने यो खेल टेनिसभन्दा सानो कोर्टमा एकल वा दुई–दुई जनाको टोली बनाएर खेलिन्छ। सरल नियम र सहज शैलीका कारण पिकलबल विश्वभर तीव्र गतिमा लोकप्रिय हुँदै गएको छ।