काठमाडौं। नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले राजनीतिक दलका आन्तरिक मामिलामा अदालत प्रवेश नगर्ने बताएका छन्। दलका आन्तरिक, कानुनी तथा संवैधानिक व्यवस्थापनको जिम्मेवारी निर्वाचन आयोगको रहेको उनको भनाइ छ।
संघीय संसद् भवनबाहिर सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै केसीले सर्वोच्च अदालतको पछिल्लो फैसलालाई स्वीकार गर्दै त्यसलाई पूर्णपाठ वा प्रक्रियागत सुधारका रूपमा बुझ्नुपर्ने बताए।
‘अदालत कुनैपनि पार्टीको आन्तरिक राजनीतिमा प्रवेश गर्छ भन्ने मलाई विश्वास छैन,’ केसीले भने।
नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा एकता र लचकताको आवश्यकता रहेको भन्दै उनले राष्ट्रिय चुनौती सामना गर्न पार्टी एकढिक्का हुनुपर्ने बताए। पार्टीभित्रको गतिरोध अन्त्य गर्न विशेष अधिवेशनमार्फत सहमतिपूर्ण वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो।
फरक प्रसंगमा, प्रधानमन्त्री बालेन्द्र साहको हालैको मुस्ताङ भ्रमणबारे केसीले भ्रमणमा देखिएको सादगी र सरलताको प्रशंसा गरे। प्रधानमन्त्रीले संसद्प्रति पनि त्यस्तै सम्मान देखाउनुपर्ने भन्दै उनले संसद्प्रति थप उत्तरदायी हुनुपर्ने बताए।
‘संसदले नै उहाँलाई निर्माण र निर्देशन गर्ने भएकाले संसदप्रति उहाँ थप उत्तरदायी हुनुपर्छ,’ उनले भने।
सरकारको कार्यशैलीप्रति मुलुकमा असन्तुष्टि र निराशा बढ्दै गएको भन्दै केसीले त्यसप्रति सरकार सचेत हुनुपर्ने बताए।