काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल रेडक्रस सोसाइटीबीच मानवीय सेवा तथा परोपकारी कार्यमा सहकार्य गर्ने समझदारी भएको छ।
सोमबार आयोजित कार्यक्रममा दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर गर्दै मानवीय सहायता र परोपकारी गतिविधिलाई थप व्यवस्थित रूपमा अघि बढाउने प्रतिबद्धता जनाइएको हो।
सम्झौता कार्यक्रममा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले रेडक्रस र एनआरएनएको कार्यप्रकृतिमा समानता रहेको बताए। एनआरएनएका तीन मुख्य स्तम्भमध्ये मानवीय सहायता र परोपकार पनि एक रहेको उल्लेख गर्दै उनले समझदारीले सेवा क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।
शर्माका अनुसार हाल ९२ देशमा एनआरएनएका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) विस्तार भइसकेका छन्। चालु कार्यकालमा यसलाई १०० देशमा पुर्याउने लक्ष्य रहेको उनले बताए।
कोभिड–१९ महामारीका क्रममा कतारलगायत देशमा रेडक्रससँग सहकार्य गरेको अनुभव सुनाउँदै शर्माले एनआरएनएले नेपालका पाँच प्रदेशमा ‘ब्लड बस’ हस्तान्तरण गरिसकेको जानकारी दिए। बाँकी दुई प्रदेश र केन्द्रका लागि थप तीनवटा बस उपलब्ध गराउने योजना रहेको उनले बताए।
‘यो समझदारी यात्राको सुरुवात मात्र हो । हामी नेपालभित्र मात्र नभई नेपालीहरू रहेका विदेशका विभिन्न मुलुकहरूमा पनि रेडक्रससँग समन्वय गरेर काम गर्न इच्छुक छौँ,’ शर्माले भने।
समझदारीअनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीको ठूलो संख्या भएका मध्यपूर्व र मलेसियालगायत देशमा राहत तथा मानवीय सहायता सञ्चालन गर्ने योजना छ। दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई स्वयंसेवक कार्यक्रममार्फत रेडक्रसका गतिविधिमा सहभागी गराउने योजना पनि रहेको शर्माले बताए।
आगामी मनसुनमा हुनसक्ने प्राकृतिक विपद्लाई ध्यानमा राख्दै तत्काल राहत कोष संकलन गर्ने प्रतिबद्धतासमेत उनले जनाए। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी र इन्टरनेसनल फेडरेसन अफ रेडक्रसका प्रतिनिधिको पनि उपस्थिति थियो।